राजनीति

दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

इकागज |
असार २८, २०८० बिहीबार १४:५६ बजे

काठमाडाैँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताएका हुन् ।


उनले आगामी आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारीता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गरे । उनले मन्त्रालयले हालसम्म ५३६ जनाको हवाई उद्धार गरिसकेको जानकारी दिए । मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमुना मन्त्रालयका रूपमा विकास गर्ने काम अगाडि बढिरहेको पनि बताए । 

उनले भने, ‘हालसम्म ५३६ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरी महिलाहरूको जीवन रक्षामा सहयोग गरिएको अवस्था छ । आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारीता अध्ययन गरी उक्त परियोजनालाई थप परिमार्जन गरी निरन्तरता दिने कार्यक्रम रहेको छ । यस कार्यक्रममा बजेटको कमी छैन ।'

उनले मन्त्रालयले दिएको सशर्त अनुदानको प्रभावकारीताको अनुगमन गरिने समेत बताए  ।


Author

थप समाचार
x