राजनीति

नेपालको असंलग्न परराष्ट्र नीति कमजोर बन्यो : महासचिव गुरुङ

राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक

इकागज |
असार २८, २०८० बिहीबार १८:४ बजे

काठमाडाैँ– नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको जिकिर गरेका छन् । 

बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


महासचिव  गुरुङले राष्ट्र, देश र जनताको भन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताए ।

गुरुङले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त र स्वतन्त्र परराष्ट्र नीति  कमजोर बन्नुको कारण  दबाब र प्रभावमा पर्दै जाने स्थिति रहेकाे बताए । उनले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको भन्दै आपत्ति जनाएका छन् । 

‘त्यसले गर्दा हाम्रा कमीकमजोरीलाई महत्वकांक्षीका रूपमा, पद प्रतिष्ठाको लागि बढाउँदै लैजाने, नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुने र एकले अर्कोलाई विस्थापित गर्नेकुरा हाबी भयो । यसले नै नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो । त्यसैले  राष्ट्रिय सहमतिको विकल्प छैन,' उनले भने, 'सकिएन भने विकास निर्माण लगायतका मुख्य मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ । पछिल्लो समयमा पञ्चशील, असंलग्नताको सिद्धान्त र स्वतन्त्र परराष्ट्र नीति कमजोर पर्दै गइरहेको छ ।'

महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा  विकासको स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको बताए । उनले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरू बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको बताएका छन् ।

उनले परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुरी रहेको कुराकाे समेत जिकिर गरे । उनका अनुसार  राजनीतिक दलहरू एक ठाउँमा नउभिएर र शक्तिकेन्द्रले नाजायज फाइदा उठाएर नेपालको राष्ट्रिय अस्मिता अत्यन्त कमजोर बन्दै गएकाे हाे । 

महासचिव गुरुङले भने, ‘शान्ति कति कायम रहन्छ र रहँदैन भन्ने प्रकारको चुनौतीहरू पैदा हुन थाल्यो । यो शान्तिका अघि आइरहेको चुनौतीको प्रतिविम्ब राष्ट्रिय राजनीतिमा पर्न थाल्यो । राष्ट्रिय राजनीतिमा पनि विकासको स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य सर्त हो ।'

विकासको निम्ति सबै दलहरूको, पक्षको बीचमा समझदारी, सद्भावको प्रक्रियाबाट अघि बढ्नुपर्ने अवस्था भए पनि विश्वको तनावको स्थितिको रिफ्लेक्सन राष्ट्रिय राजनीतिमा परेको आराेप गुरुङले लगाए ।

दलहरूबीचमा लडाउने, टुटाउने, फुटाउने, विभाजन गर्ने, छिनछिनमा संसद, सरकार विघटन, छिनछिनमा सरकार परिवर्तन यस्तो प्रकारको अस्थिरताको खेल सुरु भएको कुरा औंल्याउँदै महासचिव गुरुङले उक्त अस्थिरताको खेलको पछि हामीमा रहेका समस्याहरू, राष्ट्रिय आत्मसमर्पणवाद चिन्तनको समस्या, घुँडा टेकुवा वादी चिन्तनको समस्या भएकाे दाबी गरेका छन् । 

साथै, उनले बीआरआई प्रभावकारी ढंगबाट अघि बढ्न नसकेको कुराकाे जिकिर गरे । 


Author

थप समाचार
x