राजनीति

संघीय प्रहरी विधेयकका लागि गृह मन्त्रालयसँग थप छलफल गरिने

इकागज |
साउन १, २०८० सोमबार १८:३१ बजे

काठमाडौँ- संघीय प्रहरी विधेयकका लागि गृह मन्त्रालयसँग थप छलफल गरिने भएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा गृहमन्त्रालयबाट पठाएको विवरण अस्पष्ट भएकाले थप छलफल गर्नुपर्ने निर्णय भएको हो ।

गृह मन्त्रालयले अहिले भइरहेको अवस्था र चुनौती समेटेर पठाएको विवरणमाथि थप छलफल गर्नु पर्ने भएको समिति सभापति दिलकुमारी रावलले जानकारी दिइन् । अहिले पनि प्रहरी ऐन २०१२ नै अस्तित्वमा रहेकाले प्रदेश सरकारमा पनि केन्द्रीय सरकारले नै प्रहरी परिचालन गर्दै आएको छ । प्रदेश सरकारले संघीय प्रहरी ऐन ल्याउन दबाब दिइरहे पनि अहिलेसम्म प्रहरी ऐन बन्न सकेको छैन । दुई/तीन वर्षदेखि राष्ट्रिय सभामा सो विधेयक थन्किएर बसेको छ ।


गृह मन्त्रालयले पठाएको विवरणमा खुला सीमा नाका कारण मानव बेचबिखन, हातहतियार ओसारपसार लागूऔषध ओसारपसार र सीमा पारीबाट अपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवं अन्य अपराधिक घटना घटाउने चुनौती रहेको उल्लेख गरिएको छ । खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा शरणार्थीहरूको प्रवेश र तेस्रो देशका नागरिकहरूको अवैध घुसपैठ हुने गरेको पनि गृह मन्त्रालयले समितिलाई जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार २१२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको र हालसम्म भारततर्फ २४२ र चीनतर्फ ८ गरी जम्मा २५० स्थानमा बिओपी स्थापना भइ सञ्चालनमा रहेको पनि गृहमन्त्रालयले समितिलाई जानकारी गराएको छ ।

 


Author

थप समाचार
x