सेनाको संख्याबारे बहसप्रति पूर्वरक्षामन्त्री पोखरेलको टिप्पणी : राज्यका अंगहरूलाई कमजोर बनाइनु अनुचित र हानिकारक
काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वरक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना र राष्ट्रिय सुरक्षाका सम्बन्धमा उठेका सवालप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले हाल सार्वजनिक रूपमा राज्यका अंगहरूलाई कमजोर बनाउने हिसाबले कुराहरू उठाउनुलाई अनुचित र हानिकारक भएको बताएका छन् ।
‘अहिले मुलुकमा देखा परिरहेको सामाजिक अराजकता, सांस्कृतिक अधःपतन तथा अर्थतन्त्रभित्र देखा पर्दै गएको विश्रृंखलतालाई बढावा दिँदै राज्यलाई नै कमजोर बनाउने हिसाबले अनेक खेलहरू चलिरहेको सन्दर्भमा सेना र राष्ट्रिय सुरक्षाका सम्बन्धमा जे जस्तो तरिकाले कुराहरू उठाइँदैछ, उचित देखिँदैनन् !’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपाल राष्ट्रलाई नै क्रमशः कमजोर बनाउने रणनीतिक र आपराधिक खेल चलिरहेको अहिलेको अवस्थामा दरो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता टड्कारो बनिरहेको बेला राज्यका अंगहरूलाई कमजोर बनाउने हिसाबले कुराहरू उठाउनुलाई अनुचित र हानिकारक शिवाय अरू मान्न सकिँदैन ।’
जिम्मेवार तहमा रहेका केही व्यक्तिहरूले नेपालको रक्षा स्थिति र नेपाली सेनाका सम्बन्धमा व्यक्त गरेका विचार तथा अभिव्यक्तिहरूलाई केवल सामान्य समाचारका रूपमा मात्र बुझ्न नहुने उनको तर्क छ ।
‘ती अभिव्यक्तिहरू २०७२ मा संविधान सभाबाट जारी भएको संविधानमा गरिएको व्यवस्था , सैनिक ऐन र नेपालको राष्ट्रिय सुरक्षा नीति आदि बारेमा या त जानकारीबिना या निश्चित आग्रहबाट निर्देशित भएर यस्ता कुराहरू बाहिर आएका वा ल्याइएका हुन् भनेर बुझ्नुपर्ने हुन्छ,’ उनले भनेका छन् ।
नेपाल संविधानप्रति प्रतिबद्ध संस्था रहेको स्मरण गर्दै उनले नेपाली सेनाको प्राथमिक दायित्व मुलुकको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा नै भएको उल्लेख गरेका छन् ।
नेपाली सेनाले कतिपय कमजोरीको बाबजुद आफ्नो संवैधानिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय जिम्मेवारी पूरा गरिरहेको उनको ठहर छ ।
नेपाली सेनासित गाँसिएका कतिपय कुराहरू छलफलका विषय हुन सक्ने तर कुत्सित सोचसहित हुने बहस उचित नहुने उनको भनाई छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया