राजनीति

पार्टी संरचनालाई चुस्त बनाउन कांग्रेस केन्द्रीय सदस्यको सुझाव

इकागज |
साउन ३, २०८० बुधबार १९:२९ बजे

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको दोश्रो दिन उनीहरूले पार्टीको विधानलाई सही तवरले कार्यान्वयन गर्दै संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका हुन् । 


कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रीकृत मानसिकता हट्न नसकेको उनीहरूको भनाइ छ । बैठकमा प्रदेश सभापतिहरूले पनि प्रदेश समितिलाई वेवास्ता गरिएको पार्टी विधि र विधानअनुरुप चल्न नसकेको धारणा राखेका थिए । केही सदस्यहरूले गठबन्धनको समर्थन गरेका थिए भने केहीले चुनाव अघिको गठबन्धन आवश्यक नरहेको बताएका थिए । 

बैठकपछि कांग्रेस नेता डा प्रकाशशरण महतले बैठक पारदर्शी ढंगले अघि बढेको र रचनात्मक कुराहरू छलफलका क्रममा आएको बताए । समग्रमा पार्टीलाई बलियो बनाउनुपर्नेमा नै सदस्यहरूले जोड गरेको उनको भनाइ छ ।

बुधबारको बैठकमा जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल र आमन्त्रित प्रदेश सभापतिहरू लगाएत ४६ जनाले धारणा राखेका थिए ।  बैठकमा धारणा राख्ने क्रम जारी रहेकाले अर्को बैठक बिहीबार ११ बजे पुन बोलाइएको छ ।
 


Author

थप समाचार
x