राजनीति

आगामी मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्नेगरी आउनुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

इकागज |
साउन ४, २०८० बिहीबार १८:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन् ।

​बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले यस्तो सुझाव दिएका हुन् । उनले आगामी मौद्रिक नीति कसिलो र लचिलो आउनुपर्ने बाहिर चर्चा भइरहेको बताए । उनले कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई कि त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको उल्लेख गरे । विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने उनकाे भनाइ छ ।


पौडेलका अनुसार आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्छ । अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरूले दिएको पनि उनले बताए । 

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच हार्दिक सम्बन्ध हुनुपर्ने पूर्व अर्थमन्त्री पौडेलकाे भनाइ छ । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच हार्दिक सम्बन्ध नराम्रो छ भन्ने सन्देश बाहिर जाँदा विश्वासको वातावरण नबन्ने जिकिर गरे । उनले दुई निकायबीच सम्बन्ध नराम्रो भएको सन्देशले मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउनका निम्ति चुनौती सिर्जना गर्ने बताए ।

उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच अन्तरविरोध र असमझदारी हुन नहुने भन्दै यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्ने पनि दाबी गरे ।


Author

थप समाचार
x