राजनीति

जनताका काममा खट्न कांग्रेसका जनप्रतिनिधिलाई महामन्त्री थापाको आग्रह

इकागज |
साउन ६, २०८० शनिबार २२:११ बजे

फाइल फोटो

कास्की - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तामा रहँदा होस् वा नरहँदा जनताका काममा दिनरात खट्न कांग्रेसका जनप्रतिनिधि तथा नेतालाई आग्रह गरेका छन् । 

आज ४१औँ विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको ‘उत्पादनसँग कांग्रेस’ विषयक परिसंवादमा महामन्त्री थापाले आगामी चार वर्ष जनताको हितमा काम गरेर २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा  पार्नुपर्ने बताए । 


“नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, जनताको आशा र भरोसा पनि कांग्रेसप्रति नै छ”, महामन्त्री थापाले भने,  “चार वर्षमा काम गरेर देखाउन सकेनौँ भने विसं २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा नहुनसक्छ ।” कांग्रेसका आठ लाख ६६ हजार सक्रिय कार्यकर्ता प्रत्येक जनताको घरमा पुगेर उनको सुखदुःखमा साथ दिन पनि उनले आग्रह गरे । 

“स्थानीय तहको निर्वाचन घोषणापत्रमा कांग्रेसले ‘अबको यात्रा र एजेन्डा ः समुन्नत नेपालको राष्ट्रिय संकल्प’ अगाडि सारेको छ”, थापाले भने, “जनताको भावना र राजनीतिक शक्ति सन्तुलनअनुसार संशोधन र परिमार्जन गरी समृद्ध र प्रगतिशील दस्तावेजका रूपमा रुपान्तरण गर्न नेपाली कांग्रेस अगाडि बढ्नैपर्छ ।” 

कांग्रेस पार्टीको जन्म सत्तामा पुग्नका लागि मात्रै नभएको भन्दै उहाँले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाद्वारा जनताको भावनाअनुसार अग्रगामी र प्रगतिशील आर्थिक–सामाजिक रुपान्तरण गर्न स्थापनाका लागि भएको स्पष्ट पारे ।  “नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहन, देशमा पूर्वाधार निर्माण गरी उत्तरदायी शासन व्यवस्था ल्याउने प्रयत्नमा हामी छौँ”, उनले भने । 

जल, जमिन, जङ्गल, जडीबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नसमेत उनले आग्रह गरे । रासस


Author

थप समाचार
x