सरकार भ्रष्टाचारका फाइल खोल्छ, तर जरोसम्म पुग्दैन : सभापति लामिछाने
काठमाडौंँ– रास्वपाका सभापति रवि लामिछानेले सरकारले भ्रष्टाचार काण्डमा जरोसम्मै पुगेर छानबिन नगरेको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले भ्रष्टाचार काण्डको फाइल खोले पनि जरोसम्म नपुग्ने गरेको बताए ।
नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डको उदाहरण दिँदै उनले भने, ‘हरेक विषय सरकारले सुरु गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ । भुटानी शरणार्थी प्रकरणमा जरो कहाँ छ, सारा जनतालाई थाहा छ, तर सुरु ग¥यो सरकार अड्कियो । ललिता निवास प्रकरणको जरो कहाँ छ जनतालाई थाहा छ, त्यसमा अड्कियो । अहिले पनि सुन काण्डको जरो कहाँसम्म छ सबै जनतालाई थाहा छ, तर सरकार जरोसम्म पुग्दैन । आरोपितका नामहरू बाहिर आइरहेका छन् ।’
उनले अगाडि भने, ‘खाली हांगाबिंगा र पातमात्रै काट्छ, जरोसम्म पुग्दैन ।’सरकारका भ्रष्टाचारविरोधी कदमलाई आफूहरूले स्याबासी दिएको र सरकारले त्यसलाई ‘ग्रान्टेड’का रुपमा लिएको उनले बताए । सुन प्रकरणमा सरकार केही कर्मचारीलाई थुनेर, सुवा गरेर र फाइल खोलेझैँ गरेर पन्छिन खोजिरहेको उनको भनाइ छ ।
रास्वपासहित एमाले, राप्रपालगायत दलहरूले संसद बैठकमा सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग राखेका छन् । गृहमन्त्री र अर्थमन्त्रीको सेटिङबिना सुन एयरपोर्टमा छिर्न नसक्ने विपक्षी सांसदहरूको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया