राजनीति

कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता

इकागज |
साउन २६, २०८० शुक्रबार २०:२० बजे

कृष्णनगर- खानेपानी मन्त्री महिन्द्र राय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बहादुरगञ्ज खानेपानी संस्थानको आज अनुगमन गर्दै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्ने काम केन्द्र सरकारको भएको स्पष्ट पारे । 

कपिलवस्तुको कृष्णनगर बजारको खानेपानी पाइप लाइन विस्तारका लागि चालु आर्थिक वर्षका लागि रु चार करोड ५० लाख रकम विनियोजित गरेको उनको भनाइ छ । आगामी दिनमा जिल्लाका विभिन्न क्षेत्रमा ओभर हेड ट्याङ्की निर्माणका लागि योजनाअघि बढाउने मन्त्री यादवले आश्वासन दिए ।


जिल्लाको कृष्णनगर खानेपानी संस्थानको अनुगमनका क्रममा केही वर्ष पहिले कपिलवस्तुमा हैजा फैलिएको भन्दै उनले नागरिकले स्वच्छ खानेपानी पाउनुपर्नेमा जोड दिए । 

अनुगमनका क्रममा कपिलवस्तु क्षेत्र नं ३ का पूर्वसांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको समेत सहभागिता थियो । पूर्वसांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका अधिकांश स्थानमा खानेपानी समस्या भएको बताए । कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले खानेपानी आपूर्तिको ओभरहेड ट्याङ्कीको पाइपलाइन परिवर्तनका लागि रकम छुट्याएको भन्दै मन्त्री यादवलाई धन्यवाद दिए ।


Author

थप समाचार
x