ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार हो : मन्त्री गुरुङ
फाइल तस्बिर
काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजनाहरू ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताएकी छिन् ।
आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन् । उनले समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने भन्दै समय खेर जानु सुशासनको निम्ति भ्रष्टाचार भएको बताइन् ।
मन्त्री गुरुङले मुलुकमा शून्य सहनशीलता र सुशासन राख्नका लागि समय खेर फाल्न नहुने उल्लेख गरिन् । उनले सरकारले बनाउने हरेक योजनाहरू ठेक्का लाग्ने नीति बनाएर पनि कार्यान्वयन गर्न नसकिएको बताइन् । उनले सरकारले आयोजनाको ठेक्का लगाए पनि तोकेको समयमा निर्माण सम्पन्न गर्ने कुरालाई ध्यान दिन नसकिएको बताइन् ।
सरकारले आयोजनालाई ठेक्का लगाउने मात्रै नभएर समयमा नै निर्माण सम्पन्न गर्ने नीति लिएको उनले दाबी गरिन् । उनले मुलुकमा सामाजिक आर्थिक पूर्वाधार विकास नगरेसम्म सरकारका दीर्घकालीन योजनाको परिकल्पना पूरा हुन नसक्ने उल्लेख गरिन् । उनले सहरी विकास मन्त्रालयले सहरी विकास सडक निर्माण र आवास व्यवस्थापनमा उल्लेखनीय काम गर्दै आएको बताइन् ।
मन्त्री गुरुङले व्यवस्थित र योजनाबद्ध सहरीकरणका लागि एकीकृत बस्ती विकास,जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढाइरहेको बताइन् । उनले नयाँ सहर र स्मार्ट सिटीका लागि मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक खण्डमा पर्ने १२ वटा र भारतसँग सीमा जोडिएका १७ वटा सहरहरूलाई व्यवस्थित गरेर बसाइँसराइलाई नियन्त्रण गरी व्यवस्थित सहर बनाउने योजना सरकारको रहेको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया