राजनीति

कारबाही गर्न सिफारिस नेता नै कांग्रेसको अनुशासन समितिमा

इकागज |
भदौ ११, २०८० सोमबार ८:५६ बजे

काठमाडौँ । नेपाली काँग्रेसले गत स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन मुख्य भूमिका खेलेको प्रमाणसहित कारवाहीको सिफारिश गरेको नेतालाई नै पार्टीको केन्द्रीय अनुशासन समितिमा सदस्य राखेको छ । पार्टीका केन्द्रीय सदस्य ध्रुव वाग्लेलाई तनहुँको व्यास नगरको आफ्नो घर रहेको वडा नै ५ मा पार्टीका वडाध्यक्षका उम्मेदवारलाई हराएर एमालेका उम्मेदवारलाई विजयी गराउन मुख्य भूमिका खेलेको भन्दै वडा समितिले कारबाहीका लागि क्षेत्र तथा जिल्ला कार्यसमितिलाई सिफारिस गरेको थियो । 

केन्द्रीय सदस्य वाग्लेको वडामा सधै काँग्रेसले वडा तहको निर्वाचन जित्ने गरे पनि उनकै असहयोगले काँग्रेसका वडाध्यक्षका उम्मेदवार यज्ञ खनाल पराजित भएका थिए भने एमालेका हिमाल श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका थिए । पार्टीले कारबाहीको सिफारिस गरेपछि केन्द्रीय सदस्य वाग्लेले निर्वाचन लगतै दमौलीमा नै पत्रकार सम्मेलन गरी आफ्नो स्पष्टीकरण दिएका थिए । 


निर्वाचनमा अन्तर्घातको आरोप लागेको नेतालाई नै केन्द्रीय अनुशासन समितिमा चयन गरिएपछि यतिबेला तनहुँका काँग्रेसका नेता तथा कार्यकर्ताले आश्चर्य व्यक्त गरेका छन् । केन्द्रीय अनुशासन समितिमा उक्त विषय समेत आइपुगेको छ । केन्द्रीय अनुशासन समितिले पार्टीका नेता तथा कार्यकर्ताको अनुशासनको विषयको छानबिन गर्ने गर्दछ । यो अवस्थामा कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिले कसरी यो विषयको छानबिन गर्ने हुन् भन्ने प्रश्न नेता तथा कार्यकर्ताहरुले गरेका छन् । यस विषयमा तनहुँका नेता, कार्यकर्ताहरुले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई जानकारी गराएर निर्णय सच्याउन आग्रह गरेका छन् । कारवाहीको लागि सिफारिश गरेका व्यक्तिलाई नै अनुशासन समितिमा राख्दा समितिकै अवमूल्यन हुने भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । 

काँग्रेसले यसै साता मात्र पार्टीका नेता आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय सदस्य धुव्र वाग्ले, इश्वरी न्यौपाने, सञ्जय गौतम र राजिव कोइरालालाई राखेर केन्द्रीय अनुशासन समिति बनाएको थियो ।


Author

थप समाचार
x