राजनीति

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छु : सभापति सुवेदी

इकागज |
भदौ ११, २०८० सोमबार १७:२७ बजे

काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समितिकाे नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी छिन् ।​

सोमबार समिति सभापतिमा निर्वाचित भएसँगै सभापति सुवेदीले समितिमा रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी हुन् । उनले सबै समिति सदस्यहरूको साथ, सहयोगले विधेयक पारित हुने विश्वास व्यक्त गरिन् । उनले समितिले दिएका निर्देशनहरू सरकारलाई छिटो कार्यान्वयन गराउन लागि पर्ने पनि बताइन् ।


समितिको निर्देशनहरूलाई सरकारबाट कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने पनि उनकाे भनाइ छ । उनले भनिन्, ‘हामी समितिको तर्फबाट पहल गर्छौ र निर्णयहरूलाई छिटोभन्दा छिटो कार्यान्वयन गराउनको निम्ति लागि पर्छौं । म आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्छु । अहिलेसम्म समितिले पूर्णता नपाइसकेको कारणले गर्दा पनि अलिकति ढिला भएको हो ।  अब समितिले पूर्णता पाइसकेपछि सरकारले समितिले गरेका निर्णयहरूको कार्यान्वयनका निम्ति गम्भीरतापूर्वक ध्यान दिनेछ भन्ने विश्वास मैले लिएको छु ।’

सभापति सुवेदी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद हुन् ।


Author

थप समाचार
x