राजनीति

राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति राष्ट्रिय सभा अध्यक्षको असन्तुष्टि

इकागज |
भदौ १२, २०८० मंगलबार १६:९ बजे

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तिका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाएका हुन् ।

उनले राष्ट्रिय योजना आयोगले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेको टिप्पणी गरे । उनले योजनाबद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर्दै त्यसतर्फ आयोगको ध्यान जान नसकेको दाबी गरे ।


अध्यक्ष तिमिल्सिनाले खाद्य सम्प्रभुता, कृषि उत्पादनमा आत्मनिर्भर तथा जलवायु परिवर्तनको असरबाट बच्नका लागि क्षेत्रगत आवश्यकता तथा सम्भाव्यताका आधारमा स्पष्ट योजनासहित बजेटको तादम्यता मिल्नुपर्ने बताए । उनले योजना आयोगले मुलुकको आवश्यकता अनुसार सरकारलाई एकीकृत योजनाहरू सुझाउन नसकेको आरोप लगाए । उनले संसदीय समितिसँग आयोगको समन्वयप्रति पनि असन्तुष्टि जनाए ।

बाह्य देशबाट प्राप्त हुने सहयोग पनि सरकारले लिन नसकेको टिप्पणी तिमिल्सिनाले गरे । वैदेशिक सहयोगलाई पक्षपाती ढंगले हेर्ने र मन्त्रालयमा फाइल अड्काउने शैलीले मुलुकको समुन्नत विकास हुन नसक्ने तर्क गरे ।

अध्यक्ष तिमिल्सिनाले अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न इमान्दारीपूर्वक योजना बनाउनुपर्ने पनि जोड दिए । उनले आफूसँग वैदेशिक सहयोगका लागि विभिन्न देशका लगानीकर्ता आएर कुराकानी गरे पनि सरकारको कार्यशैलीका कारण खुला ढंगले स्वीकार गर्ने वातावरण नबनेको गुनासो गरे ।

उनले सम्मुन्नत विकासका लागि सबै क्षेत्रलाई समेट्ने गरी सन्तुलित बजेट बनाउनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x