राजनीति

मन्त्रिपरिषद् बैठक

दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गर्ने सरकारकाे निर्णय

इकागज |
भदौ १२, २०८० मंगलबार १९:३० बजे

काठमाडौँ- सरकारले दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवा समूहीकरण तर्फ राजपत्राङ्कीत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये मन्त्रिपरिषद्ले घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले अर्थमन्त्रालयको प्रस्तावमा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ भने नेपाल र फिलिपिन्सबीच कूटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिन सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले भन्सार विधेयक र विद्युत विधेयकलाई सदनमा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै बैठकले औषधी लिमिटेडको महाप्रबन्धक पदमा कैलासकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x