संसदीय समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिलाई सभामुखकाे निर्देशन
काठमाडाैं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् ।
बुधबार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका हुन् । उनले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि निर्देशन दिए । उनले समितिहरुले गतिका साथ काम गर्नुपर्ने पनि बताए ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरुले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सहि ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनले समितिले गरेका निर्णयहरुलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको बताए ।
त्यसैगरी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरु र विधेयकसँग सम्बन्धित कामहरुको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताइन् । उनले पनि समितिको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषय नै सभामुखले राखेको जानकारी गराइन् ।
उनले समितिको कामको प्रभावकारिताले नै संसदको प्रभावकारिता बढ्ने भएकाले सोही अनुरुप गम्भिरतापूर्वक समितिका काम, कारबाही अगाडी बढाउन सभामुखले निर्देशन दिनुभएको उल्लेख गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया