राजनीति

विदेश जानैपर्छ भन्ने नेपालीहरूको मानसिकता परिर्वतन गर्न आवश्यक छ : मन्त्री महत

इकागज |
भदौ १४, २०८० बिहीबार १६:९ बजे

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए । नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्तिबिनाको विदेशमा अध्ययनका लागि जानु नहुने उनकाे भनाइ छ । उनले नेपालबाट जाने विद्यार्थीहरू राम्रो विश्वविद्यालयहरूमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसर समेत पाउन नसकेको बताए ।


अर्थमन्त्री महतले नेपालमा इन्जिनियरिङ पढ्नेहरू अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भएपनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको बताए । अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको उल्लेख गरे । उनले पछिल्लो समय ठूलो संख्यामा युवाहरू आइटीमा लागे पनि करको दायरामा भने नआएको बताए ।

महतका अनुसार नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सफ्टवेयरहरू निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको छ । नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको उनले दाबी गरे । उनले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताए ।


Author

थप समाचार
x