राजनीति

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष सावित भए : प्रधानमन्त्री प्रचण्ड

इकागज |
भदौ १५, २०८० शुक्रबार १७:४१ बजे

पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपाल औपचारिक रूपमा निर्दोष सावित भएको दाबी गरेका छन् । पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे दाबी गरेका हुन् ।

उनले माधव नेपाललाई मात्र नभएर आफूलाई समेत यो टेन्सनको विषय रहेको भन्दै अब त्यो समाधान भएको जिकिर गरे । उनले केपी ओली प्रधानमन्त्री भएका बेला आफू र माधव एउटै मोर्चामा रहेको भन्दै त्यस बेला कतै षडयन्त्र हुने हो कि भन्ने डर लागेको समेत सुनाए ।


साेही क्रममा प्रधानमन्त्री प्रचण्डले देशको राजनीति सफल अवतरण भइरहेको पनि बताएका छन् । उनले निर्वाचनपछि केही मौलिक विशिष्ट घटना भए पनि पछिल्लो समय सफल अवतरण भइरहेको बताए । ‘सबै परिघटनाहरू मौलिक विशिष्ट भए पनि हामीले सफल अवतरण गर्दै अगाडि बढेका छौं,’ उनले भने, ‘देशलाई सकारात्मक सन्देश दिने उद्देश्यका साथ सामाजिक न्याय, सुशासन र समृद्धिका रूपमा नयाँ यात्रा तर्फ देशलाई डोर्याउने जमर्को गरेका छौं ।’

पछिल्लो गठबन्धनभित्र राम्रो एकता कायम भएकाले बेथिति र विसंगतीका विरुद्ध नयाँ अभियान सुरु गरेको उनले बताए । सोही कारण यो गठबन्धन पाँच वर्ष नै जाने उनको भनाइ थियो ।


Author

थप समाचार
x