राजनीति

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री महत

इकागज |
भदौ १६, २०८० शनिबार १४:१९ बजे

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिए । उनले केही समस्याका बाबजुद आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे । 

'अर्थतन्त्रमा केही समस्या आएका छन् । विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ,' अर्थमन्त्री डा महतले भने, 'राज्य संयन्त्रबाट जहाँ कमी कमजोरी भएको छ त्यहाँ सुधारका लागि निरन्तर रूपमा लागिपरेका छौँ । केही सीमितताका बाबजुद अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ ।'  

पर्यटक भित्रिने क्रम बढिरहेको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उनले जानकारी दिए । राजस्व सङ्कल्प अपेक्षाअनुसार नबढे पनि तुलनात्मक रूपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा महतको भनाइ छ ।   
 
राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताए । अर्थतन्त्र सुधारोन्मुख बनाउन सकारात्मक ‘डिस्कोर्स’को आवश्यकता भएको उनले बताएका छन् । 

निजी क्षेत्रको गतिविधिलाई धेरै माइक्रो म्यानेजमेन्ट गर्नतर्फ लाग्दा समस्या आउने उल्लेख गर्दै उनले वृहत् नीतिगत ‘फ्रेमर्वक’ भित्र कार्यान्वयनमा लग्नुको महत्वबारे स्पष्ट पारे । यस्तै निजी क्षेत्रले आत्मनियमन अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए । छाता सङ्गठनले एउटा मूल्य र मान्यतामा आधारित रहेर काम गर्न आत्म नियमनकर्ताको भूमिका निर्वाह गर्न मन्त्री डा महतको सुझाव छ । वैदेशिक सहयोग लिँदा नेपालको आवश्यकता र प्राथमिकताका आधारमा मात्र लिने उनले प्रतिबद्धता व्यक्त गरे । 


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएको सुझावलाई कार्यान्वयन गर्न सरकारसँग माग गरे । उनले सरकारी निकामनकारी निकायबाट प्रवाह हुने सूचनालाई सबैको पहुँचमा सहज रूपमा पुर्याउनसमेत अर्थमन्त्री डा महतसमक्ष सुझाव प्रस्तुत गरे ।


Author

थप समाचार
x