राजनीति

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँ : दाहाल

इकागज |
भदौ १६, २०८० शनिबार १७:२१ बजे

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक पनि प्रधानमन्त्री बन्न सफल भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक पनि प्रधानमन्त्री बनेको बताएका हुन् । शनिबार काठमाडौँको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उनले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको दाबी समेत गरे ।


आफूले प्रधानमन्त्रीमा करिब शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरु पार्टीहरूको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले नेपाली जनताको भरोसा जगाउन र सिंगो पार्टी पंक्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनु परेको स्पष्ट पारे । उनले प्रतिक्रियावादीहरूले अहिले पनि सत्तारूढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार विरोधी अभियानबारे भ्रम फैलाउने कोसिस गरिरहेको आरोप समेत लगाए ।

प्रधानमन्त्री दाहालले आफूले सुरुवात गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने जिकिर गरे ।

 


Author

थप समाचार
x