राजनीति

अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानुनमन्त्री गुरुङ

इकागज |
भदौ १८, २०८० सोमबार १६:५५ बजे

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा नहुने बताएका छन् ।​ सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठकमा सांसद प्रेम सुवालले सत्तासीन दलहरूबीचको भागबण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि ? भनेर प्रश्न गरेका थिए । मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताए । उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरे ।


सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए ।

मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताए ।


Author

थप समाचार
x