राजतन्त्रकालीन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन : मन्त्री किराती
काठमाडाैँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजतन्त्रकालीन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताएका छन् . सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।
उनले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको बताए । उनले सरकारले पर्यटन ऐनलाई समय सापेक्ष बनाउने गरी काम गरिरहेको बताए ।
मन्त्री किरातीले पर्वतारोहणको क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको जानकारी गराएका छन् ।
मन्त्री किरातीले पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताए । उनले पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर माथिको उचाइबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको महत्व घट्ने विषयमा पनि सचेत रहेको बताए ।
मन्त्री किरातीले नेपालमा संस्कृतिको ऐन नभएकाले सरकारले राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्न लागेको बताए । उनले नेपालका कतिपय नीतिहरू नेपालको राष्ट्रिय हीतमा हो की होइन भनेर छुट्याउन नसकिएको बताए ।
मन्त्री किरातीले पर्यटन क्षेत्रको विकासका लागि संरचनाहरू बनाउने अनि जहाजहरू नउडाउने काम भइरहेको बताए । उनले २२ वटा विमानस्थलहरू खाली रहेको भन्दै उक्त विमानस्थलमा राज्यको खर्बौं बजेट खर्च भएको बताए ।
मन्त्री किरातीले आफू मन्त्री भएर आएपछि एनसी धमिजा,लाउण्डा र कोभिड महामारी छलेर आएको नेपाल एयरलाइन्स नाफामा रहेको दाबी गरे । उनले वायुसेवा निगमले पौने ४ अर्ब ऋण तिरेको भन्दै तीनवटा जहाज किन्न अन्तिम तयारीमा रहेको बताए । उनले निगमको ४८ अर्बको ऋण जहाज किन्न दिएर व्यापार गर्न दिएपछि मात्रै तिर्ने बताए ।
साथै, उनले मन्त्रीले बुद्धि पुर्याउन सकेन भने मन्त्रालय वनझाँक्रीले चलाउन खोज्ने अवस्था रहेको बताए । उनले मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरूले चलाइदिने दाबी समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया