राजनीति

ओली : जंगबहादुरको दोस्रो अवतार

विनोद देवकोटा |
जेठ १२, २०७८ बुधबार ८:२८ बजे

काठमाडौँ : सोमबारको एउटा दृश्य सायदै नेपाली इतिहासमा यसअघि देखिएको थियो । त्यो दृश्य थियो, १४६ जननिर्वाचित प्रतिनिधिको हस्ताक्षरसहित सर्वोच्चमा दर्ता रिट । जहाँ १३९ सांसदले सशरीर सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानमन्त्री-राष्ट्रपतिविरुद्ध संयुक्त रूपमा रिट दर्ता गरे ।

जसमा पाँच जना पूर्व प्रधानमन्त्रीसमेतको हस्ताक्षर थियो । तीन जना सशरीर उपस्थित थिए । दुई जना पूर्वप्रधानमन्त्री स्वास्थ्य समस्याका कारण उपस्थित हुन सकेनन् । व्यवस्थापिकाका बहुमत सदस्य न्यायालयमा न्यायका लागि लाइन बसे । कोभिड नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा र भौतिक दूरी समेत गौण बन्यो ।


कोभिड महामारीको समयमा एउटा शासक (व्यक्ति) विरुद्ध ५-५ पूर्वप्रधानमन्त्री किन सडकमा आए ? गम्भीर प्रश्न यही हो । प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरिदिएपछि पुन:स्थापनाका मागसहित रिट लिएर उनीहरू न्यायालय पुगेका हुन् ।

पाँच पूर्वप्रधानमन्त्री वा व्यवस्थापिकाका बहुमत सदस्य मात्र ओलीविरुद्ध हुन् ? होइन, ‘ओलिंगाल’हरू बाहेक धेरै जना ओली प्रवृत्तिविरुद्ध छन् । नेपाली राजनीति दुई ध्रुवमा विभाजित छ । बहुसंख्यक ओली कदमको विपक्षमा छन् ।

नागरिक समाज, सभामुख, पूर्व सभामुख, संविधान र कानुनविद्, विभिन्‍न संघ-संस्था, बौद्धिक अलोकतान्त्रिक, असंवैधानिक कदमविरुद्ध छन् । नागरिक समाज, संविधान र कानुनका जानकार प्रशासक र पूर्व प्रशासकहरूविरुद्धमा छन् ।

संविधान र कानुनका जानकारहरू लजाइरहेका छन् ‘ओलिंगाल’का (अ)संवैधानिक कुतर्कहरू सुनेर । शासक सही भए ओलीजस्तो ‘कथित राजनेता’को यति धेरै आलोचना किन ? एक व्यक्ति र उसको प्रवृत्तिविरुद्ध यतिका मानिसहरू किन विपक्षमा उभिए ?

महाव्याधिका समयमा ओलीबाट मञ्चित घृणित दुष्कर्मविरुद्ध किन मानिसहरू आक्रोसित छन् ? उनीहरूले किन सत्य, न्याय, लोकतन्त्र र संविधान सम्झाइरहेका छन् ? मुलुक, संविधान जनताकोे रक्षक नै भक्षक भएपछि पाँच/पाँच जना पूर्व प्रधानमन्त्रीको न्यायपालिकाको ढोकामा पुगेका हुन् ।

पूर्व प्रधानन्यायाधीश, न्यायाधीश, कानुन व्यवसायी, बुद्धिजीवी र नागरिक समाजका यतिका मानिस लोकतन्त्र, न्याय र संविधानवादको पक्षमा उभिएका हुन् । शासक सही भए उनीहरू सडकमा आउँथे ? सनकका भरमा ओलीले प्रतिनिधि सभा विघटन गरेको यो पहिलो पटक होइन । यसअघि २०७७ पुस ५ मा पनि जननिर्वाचित थलोको घाँटी निमोठेका थिए । त्यतिबेला पूर्वप्रधानमन्त्री मात्रै होइन पूर्व प्रधानन्यायाधीश पनि मैदानमा उत्रिए ।

विघटन असंवैधानिक भन्दै चार पूर्व प्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले संयुक्त विज्ञप्ति निकालेका थिए । नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेक कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवम् व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको पाइन्छ, विज्ञप्तिमा भनिएको थियो । सोही विज्ञप्तिका कारण उनीहरूले अदालतको अपहेलना मुद्दा खेपे ।

सोमबार मात्रै पूर्व सभामुखहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गरेका छन् । राजनीतिक समस्याको समाधान संसद् बाहिर खोज्ने प्रवृत्ति निन्दनीय भएको उनीहरूको ठहर छ । पूर्व प्रधान न्यायाधीश मात्रै होइन न्यायाधीश, नागरिक समाज समेत पहिलो पटकको विघटनविरुद्ध बालुवाटारमा लाठी पानीको फोहोरा खान तयार भए । नागरिक खबरदारी गरे । बृहत् नागरिक आन्दोलनले ‘बालुवाटार मार्च’ गर्‍यो । उनीहरू पुस/माघको जाडोमा पानीका फोहोरा र प्रहरी निर्मम लाठी खाए ।

आखिर एउटा व्यक्ति र उसको प्रवृत्तिविरुद्ध किन यतिका मानिस सडकमा आए ? एउटा शासकविरुद्ध मानिसहरू किन आगो ओकल्न तयार हुन्छन् ? देश, संविधान र सारा समाज-इतर गएर अलोकतान्त्रि र असंवैधानिक कदम चाल्न एक शासकलाई के ले बाध्य बनाउँछ ? शासक किन एकलकाटे हुन्छ ?

पूर्व सभामुख तारानाथ रानाभाट नेपालमा शान्ति भंग गरेर स्थिरता निम्त्याउन विभिन्‍न शक्ति केन्द्रहरूले खेलिरहेको बताउँछन् । नेपाललाई राजनीतिक अस्थिरता, अशान्तितिर धकेलेर राष्ट्रिय एकतालाई भंग गर्ने विभिन्‍न खेलहरू भइरहेको उनको भनाइ छ ।

‘जे काम भइरहेका छन् ती मुलुकको हितमा देखिँदैनन् । मुलुक समस्यामा जेलिएको छ,’ उनले भने, ‘लोकतन्त्रको संस्थागत विकास, पार्टीहरूका बीचमा, जनताका बीचमा एकताको भावना जागृत नहोस् भनेर यी खेलहरू भइरहेका छन् । यसलाई राम्रो त कसैले भन्दैन ।’

मुलुकमा पछिल्लो समय बाह्य शक्तिको सबैभन्दा ठूलो प्रभाव एकपछि अर्कोगरी बढ्दै गएको उनको ठहर छ । नेपालमा अस्थिरता निम्त्याएर त्यसमा उनीहरूले खेल्न खोजेका उनले बताए । ‘मुलुकमा स्थिरता नआओस् । जनताको ध्यान केन्द्रित नहोस् । यहाँ अशान्ति र अस्थिरता फैलियोस् । जनता आक्रान्त होस् र त्यस्तोमा खेल्न पाइयोस भनेर यो सब यो भइरहेको छ,’ उनले भने, ‘तीनका स्वार्थका लागि यहाँ खेलिरहेका शक्तिहरू छन् नि । आफ्नो घरमा झगडा हुन्छ । बाँझिन्छन् । अनि सहयोगका नाममा छिमेकीहरू आउँछन् । छिमेकमा आगो लाग्यो भने निभाउने मात्रै होइन चोर्ने पनि आउँछन् ।’

सरकारले जनताको ध्यान मोड्न जनविरोधी काम गरेको बताए । नेपाली भूमि र जनता सम्झेको भए जनविरोधी कामै नहुने उनको भनाइ छ । सबै विपक्षमा हुँदा र आफ्नै दल विभाजन्मुख रहेको अवस्थामा पनि ओलीले चुनावकै रटान लगाउनु पनि अस्थिरता निम्त्याउने खेल नै भएको उनको भनाइ छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ओलीलाई लोकतान्त्रिक मूल्य मान्यतामा खासै रुचि नभएको बताउँछन् । ओली व्यक्तिगत स्वार्थका लागि लोकतन्त्र  र लोकतान्त्रिक संस्था सिध्याउन खेलमा लागेको उनले आरोप लगाए ।‘प्रधानमन्त्रीलाई लोकतान्त्रिक मूल्य-मान्यतामा खास मतलब देखिँदैन,’ उनले भने, ‘अनैतिकताको पराकाष्ठामा पुग्नु भएको छ । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने, लोकतन्त्र सिद्धयाउने, लोकतान्त्रिक संस्था सिध्याउनेमा लाग्नु भएको छ ।’

ओली नेपालको नयाँ जंगबहादुर बन्‍न खोजेको उनको टिप्पणी छ । उनमा निरंकुशतावादी र व्यक्तिवादी सोच हाबी भएको उनको भनाइ छ । ‘ओली नेपालको नयाँ जंगबहादुर हुन खोज्नु भएको हो । राजा महेन्द्र हुन खोज्नु भएको हो,’ उनले भने, ‘जसले निर्वाचित सरकार ढाल्यो नि । निरंकुश व्यक्तिवादी हुने र सधैँभरि आफैँ जितिरहने सोच उहाँको हो ।’

यसमा बाहिरी शक्तिको चलखेल घामजस्तै उज्यालो रहेको उनले बताए । ‘देश बाहिरको शक्ति पनि छ । भारतीय सञ्चार माध्यमलाई हेर्ने हो भने उनीहरूले खुलेआम लेखिरहेकै छन् । भारत यसमा लागेको छ भन्‍ने कुरामा त कुनै शंका छैन,’ उनले भने, ‘तर, नेपालमा लोकतन्त्र सिध्याउने कुरामा भारत किन लाग्यो ? नेपालमा अस्थिरता भए धमिलो पानी हुन्छ र माछा पार्न पाइन्छ भन्‍ने होला । यो त दिउँसोको उज्यालो जत्तिकै प्रष्ट छ ।’

बालुवाटार बसेर ओली र उनका अन्धभक्तहरूले (अ)संवैधानिक कुतर्क गरिरहेका छन् । शक्ति केन्द्रको निर्देशनमा जतिसुकै कुतर्क र षड्यन्त्रका तानाबाना बुने पनि अन्याय, असत्य र निरङ्कुश शासकको विजय कही भएको छैन ।

लोकतन्त्र र संविधानको चीरहरण गर्ने शासकको विजय हुन्थ्यो भने राजा ज्ञानेन्द्र सत्ताच्यूत हुने थिएनन् । विश्वमा हिटलरहरूको कू्रर शासनको पतन भयो भने ओली को हुन् र ? ओलीको अधिनायकवाद र स्वेच्छाचारिता कति दिन टिक्ला ?


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x