सुरक्षा चुनौती सामना गर्न अझै प्रभावकारी कदम चाल्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वव्यापी रूपमा बढ्दो नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।
इन्टरपोल स्थापनाको एक शताब्दी पुगेको अवसरमा आज काठमाडौँमा नेपाल प्रहरीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले साइबर अपराध, आतङ्कवाद र अन्तर्राष्ट्रिय सङ्गठित अपराधजस्ता विश्वव्यापी नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न जरुरी रहेको बताए ।
उनले अपराध नियन्त्रणमा देशहरूबीच आपसी समन्वय जरुरी रहेको बताउँदै यस कार्यमा नेपाल प्रहरीले गरेको प्रयासको सराहना व्यक्त गरे । एक शताब्दीदेखि इन्टरपोल अन्तर्राष्ट्रिय अपराध र आतङ्कवाद विरुद्धको विश्वव्यापी लडाइमा अमूल्य साझेदार भएको जनाउँदै गृहमन्त्री श्रेष्ठले यसले अन्तर्राष्ट्रिय प्रहरीबीच सहयोग अभिवृद्धि गर्नुका साथै सूचनाको आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्दै आएकामा प्रशंसा गरे ।
उक्त कार्यक्रम मनाउँदै गर्दा नेपाल प्रहरीका पुरुषोतम नेपालीले सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण उपलब्धि भएको उनले बताए । गृहमन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय प्रहरीको सहयोगलाई सुदृढ पार्ने नेपालको प्रतिबद्धतालाई पुन दोहोर्याए । न्याय र सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहयोगी र साझेदारहरूसँग समन्वय अभिवृद्धि गर्ने सङ्कल्पमा नेपाल सरकार लागिरहेको उनले बताए ।
आफ्नो सिमानाभित्र शान्ति र सुव्यवस्था कायम राख्नका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल प्रहरीले इन्टरपोलसँगको सहकार्यमा राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले भजे, 'विश्वले नै अन्तर्राष्ट्रिय अपराधबाट गम्भीर चुनौतीको सामना गरिरहेको छ, त्यस्ता अपराध नियन्त्रण गर्न सुदृढ साझेदारको खाँचो रहेको छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया