राजनीति

वर्तमान संविधान बीपी विचारकै सार : राष्ट्रपति पौडेल

इकागज |
भदौ २२, २०८० शुक्रबार १५:३३ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन् । जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् । 

राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गरे । उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे ।  


'राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं,' उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रूपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।'

राष्ट्रपति पौडेलले विश्वमा सर्वोत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रतिको बीपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यम वर्गीय हैसियत’ भन्ने उनको धारणा समानताको सिद्धान्तलाई मूर्त रूप दिने व्यवहारिक र ठोस दृष्टिकोण स्पष्ट भएको बताउँदै अहिले पनि सो दृष्टिकोण पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।  'बीपिले देखाउनुभएको आदर्शमा हामी हिँड्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने पनि म ठान्दछु,' उनले भने ।

राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो संघर्षपूर्ण जीवन यात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतमा रहेको भनाइ राखे । उनले नेपालको राजनीतिमा सदैव उच्च स्थानमा रहने बीपीमा रहेको साहित्यिक प्रतिभाले समेत उनको बहुआयामिक व्यक्तित्वलाई प्रष्टयाएको पनि बताए ।

कार्यक्रममा ट्रस्टका सदस्य एवम् सांसद डा शशांक कोइरालाले धन्यवाद ज्ञापन गर्दै बीपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । यस्तै ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले बीपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए ।

कार्यक्रममा बीपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमल पुरस्कृत भएका थिए । सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

त्यस्तै बीपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत भए । सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ ।

सम्मानित व्यक्तित्व बिमलले बीपी सदैव स्वतन्त्रता र समानताका पक्षधर भएकाे भन्दै लोकतान्त्रिक समाजवाद नै बीपीको राजनीतिको चेतनाको प्राण भएको बताए  ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरू तथा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो ।


Author

थप समाचार
x