राजनीति

आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन

संविधान र लोकतन्त्रको रक्षार्थ सँग-सँगै जाने प्रस्ताव शीर्ष बैठकमा

मधुसुधन भट्टराई |
जेठ १२, २०७८ बुधबार १७:२५ बजे

काठमाडौँ : विपक्षी पाँच दलले संविधान र लोकतन्त्र दिगो रहने बलियो आधार निर्माण नहुँदासम्म गठबन्धनलाई निरन्तरता दिने भएका छन् । यी पाँच दलले प्रतिनिधि सभा विघटन बदर र संविधानको धारा ७६ (५) अनुरुप राष्ट्रपतिसमक्ष संयुक्त दाबी पेस गरेका छन् । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा लोकतन्त्र र संविधानको सुनिश्चितताका लागि लामो समयसम्मै गठबन्धन गर्ने निष्कर्षमा पुगेका हुन् । 


२०६२/०६३ मा तत्कालिन राजा ज्ञानेन्द्रको कदमविरुद्ध ७ दलीय गठबन्धनजस्तै अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध मोर्चाबन्दी कस्‍ने तयारीमा उनीहरू लागेका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता नेपाल, जसपा अध्यक्ष यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । 

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दाहाल र नेपालले गठबन्धन लामो समयसम्म राख्‍ने प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा यादव र पौडेलले समर्थन जनाए । देउवाले मुन्टो हल्लाए ।

मंगलबारको बैठकमा आएको गठबन्धन लामो समय टिकाउने प्रस्तावबारे सभापति देउवाले बिहान बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा जानकारी गराएका छन् । देउवाले जानकारी गराएपछि अन्य नेताहरूले लोकतन्त्रको रक्षाका लागि सत्ताबाट ओलीको र राष्ट्रपतिबाट भण्डारीको बर्हिगमन अपरिहार्य भएकोले उनीहरूलाई हटाउन गठबन्धन गर्नेमा समर्थन जनाएका थिए । 

‘सर्वोच्च अदालतमा परेको रिट टुंगिने बेलासम्म मात्रै होइन, संविधान र लोकतन्त्र संस्थागत नहुँदासम्म गठबन्धन जारी राख्‍ने र आगामी निर्वाचनमा पनि गठबन्धन बनाएर जाने प्रस्ताव पाँच दलका शीर्ष नेताको बैठकमा आएको जानकारी सभाापतिले बैठकमा गराउनु भयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘नेताहरूले संविधान र लोकतन्त्र दिगो बनाउन गठबन्धन बनाउने विषयमा एक स्वरले समर्थन जनाउनु भयो ।’ 

दलीय बैठकमा दाहाल, नेपाल, यादवले २०६२/६३ मा तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेर राजाको कदमलाई घुडा टेकाएजस्तै अहिले देउवाले नेतृत्व गरेर भण्डारी र ओलीको असंवैधानिक कदमलाई असफल पार्नुपर्ने बताएका थिए । 

देउवाले सबैले साथ दिएमा आफू अगाडि बढ्न तयार रहेको बताएको पदाधिकारीहरूसँग राखेका थिए । दाहाल, नेपाल र यादवले आगामी निर्वाचनमा पनि अघिल्लो पटक (एमाले-माओवादी) जस्तै गठबन्धन गर्नु पर्ने प्रस्तावसमेत गरेका छन् । त्यस विषयमा भने कांग्रेसमा बहस जारी छ । तत्काल निर्णय भइसकेको छैन । 

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र र संविधानको सुनिश्चितताका लागि लामो समयसँग गठबन्धन गर्ने विषयमा विपक्षीबीच छलफल भइरहेको बताए । ‘हामीले संविधान र लोकतन्त्र बचाउन लामो समयसम्म गठबन्धन बनाउने विषयमा शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ,’ खाणले इकागजसँग भने, ‘नेपालमा जब-जब निरंकुशता मौलाउँछ, तब-तब दलहरू लोकतन्त्रका पक्षमा एकताबद्ध हुँदै आएको इतिहास छ । अहिले पनि हामी निरंकुशताविरुद्ध र लोकतन्त्रका पक्षमा एकजुट भएर गठबन्धन बनाउने र लामो समयसम्म टिकाउने गृहकार्य गरिरहेका छौं ।’

मुख्यगरी कांग्रेसभन्दा पनि माओवादी, एमालेको नेपाल समूह र जसपाको यादव समूह कम्तिमा एउटा निर्वाचनसम्म गठबन्धन बनाउनु पर्ने पक्षमा छन् । उनीहरूले नै ओली निरंकुशतालाई सदाका लागि बिदा गर्न भन्दै कम्तिमा एउटा निर्वाचनसम्म गठबन्धन गर्ने प्रस्ताव राखेका हुन् । 

जसपा कार्यकारिणी समिति सदस्य रामसहाय यादवले संविधान र लोकतन्त्र दिगो हुने अवस्था निर्माण नहुँदासम्म विपक्षी दलहरूको गठबन्धन जारी रहने बताए । ‘संविधान र लोकतन्त्र दिगो हुने अवस्था निर्माण नहुँदासम्म हाम्रो गठबन्धन जारी हुन्छ,’ यादवले इकागजसँग भने, ‘जति लामो समय लागोस राजनीतिक र कानुनी लडाइ लड्ने समझदारी ५ दलबीच भएको छ, त्यो लडाइ सफल पार्छौँ । त्यसपछि भोलिका दिनमा हाम्रो गठबन्धन आवश्यकतानुसार अगाडि बढ्छ ।’

यी दलले सोमबार १३९ सांसद सर्वोच्च अदालतमा सशरीर उपस्थित भएर प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न माग गर्दै रिट दायर गरेका छन् । 
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x