राजनीति

‘बीपीले १८ महिनामा १५ वर्षको निब राख्नुभएको थियो’

इकागज |
भदौ २५, २०८० सोमबार १४:३६ बजे

काठमाडौँ –  पूर्वराष्ट्रपति रामवरण यादवका राजनैतिक सल्लाहकार रहेका हरि शर्माले बीपीले नपाएको १५ वर्ष कल्पनाको कुरा भएको बताएका छन् । 

उनले एक सत्रका बीच १५ वर्ष नपाएको हुनाले त्यो पाउन के गर्नुपर्ने हो भनेर सबैले गम्भीर रूपले सोच्नुपर्ने आग्रह समेत गरेका छन् । 


विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आयोजित साहित्य महोत्सव २०८० को  दोस्रो दिनमा ‘बीपीले नपाएका १५ वर्ष’ सेसनमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५ वर्ष बीपीले नपाएको भए के हुन्थ्यो भनेर प्रश्न गरेका थिए । 

थापाले २०३६ सालमा टुँडिखेलमा आमसभालाई सम्बोधन गर्दै बीपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले देश कसरी बदल्ने हाे भन्ने प्रश्न गरेको र उत्तर जोड्दै बीपीले आफू मध्यम परिवारमा जन्मेको मान्छे भएकाले आफूले १५ वर्ष पाए मध्यम वर्गका मानिसहरूलाई खानलाउन पुग्ने बनाउन सक्थेँ भनेको प्रसंग जोड्दै आठ वर्ष निर्वासनमा आठ वर्ष जेलजीवन बिताउनु परेको र भनेका कुरा अधुरै रहेकाे बताए ।

महामन्त्री थापाले बीपीले नपाएको १५ वर्ष नभएर नेपालले गुमाएको १५ वर्ष भएको बताएका छन् । 

सोही प्रश्नको उत्तर दिँदै हरि शर्माले कल्पनाकै १५ वर्ष भएको बताएका छन् । उनले भने, ‘उहाँले पाएको १८ महिना, दुई वर्ष,मा राजनीतिक क्रान्ति, संविधानसभा भन्दा भन्दै सुरु गरेका भूमि सुधारका कुराहरू, न्यायपूर्ण समाजको सन्दर्भ, औद्योगिक विकासको सन्दर्भ, उहाँले लिएका परराष्ट्र नीतिका सन्दर्भहरूलाई अगाडि बढाउनु हुन्थ्यो ।’ 

शर्माले भने, ‘ बीपीमा हुटहुटी, कार्यक्रम र धैर्य थियो । उहाँले १८ महिनामा १५ वर्षको निब राख्नुभएको थियो । अहिलेको नेतृत्व बीपीको जत्तिको तयार छन् वा छैनन् भन्ने विषय छ । ’

शर्माले अगाडि भने, ‘ १५ वर्ष नपाउँदा पनि के गर्न सकिन्छ भन्ने कुरालाई हेर्नुपर्छ । यहाँ राजनीतिमा पदपाएका धेरै व्यक्तित्वहरू हुनुहुन्छ । जाने तयारीमा हुनुहुन्छ । उहाँहरूको तयारी के छ त भनेर हेर्नुपर्छ ।’   

शर्माले बीपी चिन्तन गर्ने मात्रै नभएर आफ्नो कार्यक्रममा पनि प्रतिवद्ध भएको व्यक्ति भएको कुराको पुष्टि भएको जिकिर समेत गरे । 


Author

थप समाचार
x