प्रचण्डले भने- गिरिजाप्रसादले नै यहाँनेर फाैजी आक्रमण गर्दा राम्रो हुन्छ भन्नुहुन्थ्यो
विराटनगर । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनयुद्धकालीन अवस्थामा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले नै फौजी आक्रमण गर्न लगाउने गरेको भन्दै विवादित अभिव्यक्ति दिएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चाको कोशी प्रदेश स्तरीय सन्देश सभालाई सम्बोधन गर्दै दाहालले तत्कालीन निरंकुश राजतन्त्रविरुद्ध सात राजनीतिक दल र माओवादी एकतावद्ध भएर लडेको भन्दै कोइरालाले नै ठाउँ तोकेर फौजी आक्रमण केन्द्रीत गर्न आग्रह गर्ने गरेको बताएका हुन् । माओवादी भूमिगत भएकै बेलामा कोइरालाले त्यसो भन्ने गरेको दाहालले दाबी गरेका छन् ।
‘१२ बुँदे समझदारीदेखि जनयुद्ध र जनआन्दोलन सँग सँगै चलायौं सल्लाह गरेर, गिरीजाप्रसाद कोइराला त्यतिबेला त्यसको नेतृत्व सात दलको’ दाहालले भने, ‘वहाँले मलाई भन्नु नै हुन्थ्यो लहै यहाँनेर फाैजी आक्रमण केन्द्रीत गर्नुभयो भने राम्रो हुन्छ भन्नुहुन्थ्यो ।’
दाहालले कोइरालाको भूमिकामात्रै खोलेनन्, उनले तत्कालीन अवस्थामा एमालेका महासचिव माधव नेपाल र आफूबीच धेरै पटक भूमिगत रुपमा देशभित्र र देश बाहिर भेट भएको समेत बताए । उनले एमालेमा अहिलेजस्तो नेतृत्व भएको भए के हुन्थ्यो होला भन्दै केपी ओलीप्रति व्यंङ्ग्य पनि गरे । उनले ओली एमालेको नेतृत्वमा भएको भए देशलाई गणतन्त्रमा लैजान बडो गाह्रो हुने टिप्पणी गरे ।
‘माधव जी र मेरो त यति धेरै भेट हुन्थ्यो, धेरै भूमिगत रुपमा देशभित्र र देश बाहिर’ दाहालले भने, ‘माधव जी नेतृत्वमा नभएर अहिलेको एमालेजस्तो नेतृत्व भएको भए के हुन्थ्यो होला भनेर कहिलेकाँही म सोच्ने गर्दछु ।’
प्रधानमन्त्री दाहालले सरकारविरुद्ध षडयन्त्र भइरहेको आरोप लगाएका छन् । षडयन्त्रका कारण आफु सत्तामा कति टिक्ने हो भन्ने थाहा नभएको बताएका छन् । गठबन्धनको सरकार रहेका कारण आफूले जे चाह्यो त्यै भैहाल्ने अवस्था नरहेको पनि बताए । आफूले सिंहदबारबाटै भ्रष्ट्राचारविरुद्ध एक्सन लिइरहेको दाबी गरे ।
यही सरकारले मूलभूत रुपमा नागरिकताको समस्या समाधान गर्न अघि बढेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचारविरुद्धको प्रहार अघि बढेको छ, कुसासनका पक्षहरु आतंकित छन्, सरकारविरुद्ध चालबाजी गर्दैछन्, सरकार कति दिन टिक्छ, मलाई त्यसको मतलब पनि छैन ।’
‘टिकटकमा हेर्नै नसकिने गरी प्रचार गर्ने चैं राजनीतिज्ञ भए’
प्रधानमन्त्री दाहालले टिकटक लगायतका सामाजिक सञ्जालमा हेर्नै नसकिने गरी प्रचार गर्नेहरु चैं अहिले राजनीतिज्ञ भइरहेको अर्को टिप्पणी गरेका गरेका छन् । उनले जिन्दगीभरी राजनीति, लोकतन्त्र, क्रान्तिको निम्ति भनेर लागेका पार्टीहरु रक्षात्मक जस्तो भएको तर हिजोआज त्यसै चलेका हावाहुरी गालीगलौजका भरमा आएकाहरु चैं पार्टी हुने जस्तो बिडम्बना देखिएको बताए ।
‘तपाईं हामीले हेर्यौं भने सोसियल मिडियामा अझ टिकटकमा, कतिपय त हेर्नै सकिँदैन । म त हेर्नै सक्दिनँ, कहिलेकाँही यसो हेर्न खोज्छु त्यहाँ प्रयोग भएको भाषा सुन्दा यस्तो भाषा कुनै कल्चर हो त नेपालीको भन्ने जस्तो लाग्छ’ प्रधानमन्त्री दाहालले भने, ‘तपाँईहरुले पनि बेलाबेलामा हेर्नुभयो होला नि, चित्रहरु आउँछन हेर्नै नसकिने, एक्लै बसेर कोठामा बसेर हेर्दा पनि लाजमर्दो । त्यस्ता आउने अनि त्यस्को प्रचार गर्नेहरु चैं राजनीतिज्ञ जस्ता, ती चैं ठूला अनि हामी चैं जिन्दगी नै जेलनेल, भूमिगत, त्याग तपस्या र बलिदान गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिक डराएजस्तो देखिन थाल्यो ।’
उनले राजनीति गरेकाहरू बाटामा छाती खोलेर हिंड्न पनि अलिकति अप्ठेरो भएजस्तो हुने गरेको बताए । त्यसरी आएका व्यक्तिहरू निरंकुशताका दलाल र गुण्डाहरू भएको आरोप लगाए । गुण्डाहरुकै कारण गठबन्धनमा भएको दल नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भर्खरै खुकुरी प्रहार भएको प्रधानमन्त्री दाहालले बताए ।
‘उनीहरुको मनोबल कस्तो रहेछ, तपाँई हामीचैं बडो रक्षात्मक, त्यस्तो होइन अब । यो समाजवादी मोर्चाले जहाँ बदमासी गालीगलौज हुन्छ ईंटको जवाफ पत्थरले दिने गरी जानुपर्छ’ उनले सन्देश सभामा सहभागीहरूलाई उकास्दै भने, ‘तपाई हामी जुरुक्क उठ्ने हो भने कसैको केही लाग्नेवाला छैन, त्यति दिनै पर्यो तिनीहरुलाई, साथीहरूलाई पनि भनिरहेको छु ।’
मंगलबार सुदूरपश्चिममा गएपछि सातै प्रदेशको सन्देश सभा सकिने र मोर्चा पनि घोषणा हुने जानकारी दिए । त्यसपछि मोर्चा बसेर सडकमा जाने कार्यक्रम बनाउने समेत बताए ।
‘लाखौं जनतालाई सडकमा ल्याउने हो र, यी गुण्डाहरु, प्रतिक्रान्तिकारीहरु, दलालहरुलाई हामी जिउँदै छौं भन्ने देखाउनु पर्यो, जनता जिवित छ भन्ने देखाउनु पर्यो, अनि मात्रै हाम्रो जीत हुन्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया