राजनीति

गौहत्याको विरोधमा राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने

इकागज |
भदौ २६, २०८० मंगलबार १२:६ बजे

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ। राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा यही भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने राप्रपाले जनाएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो ।
आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरूको पनि सहभागिता रहने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताए । उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे । आन्दोलन कसरी गर्नुपर्छ भन्ने आफूहरूले देखाउने शाहीको भनाई थियो। धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुन शाहीले आग्रह गरे ।


‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छ, अब तपाईंका आन्दोलन गर्ने दिन गए । जनताले प्रधानमन्त्री बनाएका हुन् । जनताको काम गरौँ । जनताको काम गर्न सक्दैनौँ भने राजीनामा दिएर थचक्क लाएर घरमा बसौँ। होइन भने ज्यादा फुरफुर नगरौँ। आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौँ । राष्ट्रवादी शक्तिले देखाउँछौँ । राष्ट्रियता, धर्म निरपेक्षताको विरुद्धमा राष्ट्रियताको सवालमा हामी एकजुट छौँ,' उनले भने, 'बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुन्छ । त्यसको शुरुवात २७ गतेबाट सुरु हुन्छ । यो प्रधानमन्त्रीलाई खुला चुनौती हो ।’

प्रवक्ता शाहीले हिन्दूहरूको आस्थामाथि आक्रमण गरिएको भन्दै सो काम गर्नेहरू अतिवादी भएको बताए। उनले हिन्दु धर्म र संस्कार मास्छु भनेर आउनेहरू  अतिवादी र आतंकवादी भएको भन्दै उनीहरूलाई तह लगाउने बताए ।

‘हिन्दूहरूले मान्दै आएको गाईलाई काटेर ७७ जिल्लामा पु¥याउँछु भन्ने तिनीहरू चाहिँ अतिवादी नहुने ए भाइ हो यो हाम्रो आस्था हो । हाम्रो आस्थामाथि तिमीहरूले आक्रमण नगर न त भनेर कसैले कुरा राख्यो भने त्यो चाहिँ अतिवादी हुने । नेपालका केही मिडिया, केही मान्छेले चाहीँ हिन्दु अतिवादी भन्छन् । अतिवादी भनेको अर्काको घरमा गएर ढुंगाले हान्यो । तिनीहरूले मान्दै आएको धर्म, संस्कार जो विदेशी डलरे धर्म छ त्यसमा हामीले गएर भत्काइदिएपछि पो अतिवादी हुन्छ त ।

उनीहरू नै हाम्रो धर्म, संस्कार मास्छु भनेर आउने । हामीले मान्दै आएको गौमाताको हत्या गर्ने । अझ हामीलाई अतिवादी भन्ने रु तिनीहरू अतिवादी पनि हुन् । आतंकवादी पनि हुन् । अतिवादी र आतंकवादीलाई ठिक कसरी बनाउनुपर्छ भन्ने कुरा हामीलाई थाहा छ । राम्रोसँग ज्ञान छ । आतंकवादीहरू कसरी तह लागे नेपालमा त्यो कुरा प्रष्ट इतिहासले देखाएको छ । अतिवादी र आतंकवादले देश बन्दैन ।’

उनले आफूहरू धर्म, संस्कृतिको रक्षामा लागेको भन्दै धर्म, संस्कृतिको रक्षा गर्दा अतिवादी नहुने बताए।


Author

थप समाचार
x