सुवास नेम्वाङको पार्थिव शरिर च्यासलमा, ओलीले ओडाए झण्डा
काठमाडौं । हृदयघातबाट निधन भएका नेकपा एमाले का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिएको छ । महाराजस्थित शिक्षण अस्पतालबाट केही समयअघि एमाले केन्द्रीय कार्यालयमा नेम्वाङको शव लगिएको हो ।
च्यासलस्थित मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिएको हो । पार्टी कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायतले श्रद्धाञ्जली व्यक्त गरे ।
पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरे ।
त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पुगेका छन् । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो । नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी भएका थिए ।
नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित रेका थिए । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष÷सभामुख र २०७२ सालमा सभामुख भए ।
विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य भएका थिए । प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए ।
प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भएका थिए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत थिए ।
उनलाई श्रद्धाञ्जली दिन बाक्लै उपस्थित रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया