राजनीति

नेपाल समूहमा भट्टराई र बिष्टको स्पष्टीकरण

‘देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्दैनौँ, अन्य एजेण्डामा हामी साथमै छौँ’

मधुसुधन भट्टराई |
जेठ १२, २०७८ बुधबार २१:१३ बजे

काठमाडौँ : एमाले नेताद्वय योगेश भट्टराई र गोकर्ण बिष्टले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बाहेकका एजेण्डामा आफूहरू वरिष्ठ नेता माधवकुमार नेपालसँगै रहेको बताएका छन् । समूहको मंगलबार भएको स्थायी समितिको जुम मिटिङमा भट्टराई र बिष्टले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नेबाहेकका एजेण्डामा आफूहरू नेता नेपालसँगै रहेको बताएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठमा संविधानको धारा ७६(५) अनुरुप सरकार गठन गर्न आह्वान गर्दा एमालेको माधवकुमार नेपाल समूहले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन देउवाका पक्षमा हस्ताक्षर गरेको थियो । त्यसबेला एमालेका नेपाल समूहका २६ सांसदले हस्ताक्षर गर्दा नेता नेपालका विश्वास पात्रका रूपमा चिनिएका भट्टराई र बिष्टले हस्ताक्षर गरेका थिएनन् । दुवै जना एमालेको नवौं महाधिवेशनमा नेपालको प्यानलबाट उम्मेद्वार बनेर सचिव जितेका नेता पनि हुन् । 


तर, उनीहरूले त्यसबेला हस्ताक्षर नगर्दा कसरी ओली समूहमा पुगे भनेर चर्चा परिचर्चा भएको थियो । अझ सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठको बिहानै प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन र देउवाको दाबी पुगेन भन्‍ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दा पनि भट्टराई र बिष्टले हस्ताक्षर नगरेपछि दुवै नेताले नेपाल समूह छोडेको शंका गरिएको थियो ।

तर, उनीहरूले समूह छोडेको नभई देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न मात्रै नसकेको प्रष्टीकरण समूहमा दिएका हुन् । एमाले उपाध्यक्ष तथा नेपाल समूहका नेता युवराज ज्ञवालीले नेताद्वय आफूहरूको समूहमै रहेको तर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर मात्रै नगरेको जानकारी दिए । ‘गोकर्ण विष्ट र योगेश भट्टराई पार्टीको अर्को समूहतिर लागेको होइन । उहाँहरूले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने सहमति हुने भए हामी हस्ताक्षर गर्छौं भन्‍नु भएको हो' उनले भने ।  

कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा हस्ताक्षर गर्न हाम्रो मनले मानेन मात्रै भन्नु भएको हो,’ उपाध्यक्ष ज्ञवालीले इकागजसँग भने, ‘कतिपय इश्यूमा एक ठाँउमा भए पनि हस्ताक्षर गर्न मन लाग्दैन । भएको त्यही हो ।’

उनीहरूले नेता नेपाललाई सहमतिको प्रधानमन्त्री बनाउने भएमा आफूहरूले अहिले समूहसँग रहेका सांसदहरूमा केही थप्न सकिने समेत समूहमा बताएका थिए । 
आफूहरूको मुख्य एजेण्डा केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध रहेको र त्यसमा आफूहरूसँगै भट्टराई र बिष्ट रहेको ज्ञवालीले बताए । ‘हाम्रो मुख्य एजेण्डा केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध एक हुने हो । ओलीबाट लोकतन्त्र र संविधान बचाउने हो । त्यसमा उहाँहरू हामीसँगै हुनुहुन्छ,’ ज्ञवालीले भने । 

आज नेपाल समूहका १५ नेताहरूले ओलीको निरंकुशताविरुद्ध एकजुट हुन जारी गरेको अपिल जारी गर्ने प्रस्ताव मंगलबारको जुम मिटिङमा राखिएको र त्यसमा सबैभन्दा पहिले भट्टराई र बिष्टले समर्थन गरेको ज्ञवालीले बताए । 

एउटै घरमा बस्दा पनि केही विषयमा मतभिन्नता हुनु स्वभाविक भएको ज्ञवालीले बताए । ‘इश्यूमा एउटै घरमा बसेर पनि भिन्नता त हुन्छ । कतिपय काम मलाई गर्न मन छैन भन्न सकिन्छ । त्यतिमात्रै हो, हाम्रो अभियानमा हामी सँगै छौँ । साथै छौँ। प्रतिगमनविरुद्ध हामी सँगै छौँ । संगठित रूपमै छौँ,’ ज्ञवालीले भने ।  

ओलीले कम्युनिस्टका नाममा लोकतन्त्र मास्न लागि परेको आरोप लगाए । कम्युनिस्ट हुन् भन्दैमा प्रतिगामी कदमलाई साथ दिन नसकिने भन्दै उनले आफूहरू नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग लोकतन्त्रका लागि एकजुट भएको बताए । 

लोकतन्त्र बचाउन प्रधानमन्त्रीमा देउवालाई समर्थन गरिएको ज्ञवालीको भनाइ छ । ‘लोकतन्त्र बचाउन लोकतान्त्रिक मोर्चा बनाउनु पर्छ भन्ने हाम्रो भनाइ हो । त्यस्तो अवस्थामा शेरबहादुर वा अन्य कोही भए पनि समर्थन गरौं भन्ने निष्कर्ष हामीले निकाल्यौं,’ ज्ञवालीले भने, ‘माधवकुमार नेपाल भएको भए हामी खुसी हुन्थ्यौं । नभए पनि कांग्रेस लोकतन्त्रका लागि लडेको पार्टी हो, देउवा आफैँ पनि लोकतन्त्रका लागि लड्नु भएको हो र हामीले समर्थन गर्‍यौँ । लोकतन्त्र जोगाउन उहाँलाई समर्थन गर्नु अहिलेको आवश्यकता हो ।’

 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x