'सुवास नेम्वाङ : संविधान सभाको पर्यायवाची'
काठमाडौ.– मंगलबार बिहान निधन भएका संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । उनीप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पुगिरहेका छन् ।
नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेका नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनी नेपाली राजनीतिमा अत्यन्तै सन्तुलनकारी भूमिका निर्वाह गर्ने व्यक्ति भएको बताए । नेम्वाङ संयमित ढंगले प्रतिकुलताहरुलाई अनुकुलतामा बदल्ने नेताको रुपमा रहेको पोखरेलले उल्लेख गरे । पार्टीभित्र नेम्वाङलाई सम्मानका साथ हेरिने गरेको उनले बताए । नेम्वाङ जहिल्यैपनि समस्याहरुलाई सुल्झाउने गरी प्रस्तुत हुने गरेको उनले स्मरण गरे ।
‘उहाँको अत्यन्त सन्तुलनकारी भुमिका, मृदुभाषी र संयमित ढंगले प्रतिकुलताहरुलाई अनुकुलतामा बदल्ने कोशिस गर्ने नेताको रुपमा मैले बुझ्दछु ।’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा खासगरी जनताका निर्वाचित प्रतिनिधिहरुबाट संविधान निर्माण गर्ने क्रममा जुन ऐतिहासिक भूमिका उहाँले खेल्नुभयो त्यो स्मरणीय छ ।’
त्यस्तै पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू सभामुख रहेका बखत नेम्वाङसँग दैनिक छलफल गर्ने गरेको बताए । उनले नेम्वाङले रचनात्मक, सिर्जनात्मक र परिपक्व सल्लाह दिने गरेको स्मरण गरे । उनले कम्युनिष्ट पार्टीको पुनःगठनको आवश्यकता भएको बेलामा नेम्वाङजस्तो समन्वयकारी व्यक्तित्व गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।
नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले सुवास नेम्वाङ संविधानसभाको पर्यायवाचीको रुपमा रहेको बताइन् । नेम्वाङ एउटै कम्युनिष्ट आन्दोलन र एउटै कम्युनिष्ट पार्टी चाहने व्यक्ति भएको पनि उनको भनाई छ ।
‘उहाँको शालीन, सौम्य, बौद्धिक व्यक्तित्व विशेष ढंगले स्मरणीय छ । हाम्रो संविधान भन्नेबित्तिकै सुवास नेम्वाङ जोडिएर आउनुहुन्छ ।’ उनले भनिन्, ‘उहाँ एकीकृत कम्युनिष्ट आन्दोलन, एउटै कम्युनिष्ट पार्टी चाहाने व्यक्तित्व हो । हाम्रो आन्दोलनमा उहाँको भूमिका सम्झिरहने छौँ ।’
नेकपा(एमाले)का सांसद सूर्य थापाले सुवास चन्द्र नेम्वाङले राष्ट्रिय राजनीतिमा आफूलाई सहमतिको मियोको रुपमा प्रश्तुत गरेको बताए । नेम्वाङले तमाम खालका द्वन्द्व र विमतिहरुलाई सहमतिका साथ निचोड र निष्कर्षमा पुर्याउने कामको नेतृत्व गरेको उनले बताए । समकालीन राजनीतिमा नेम्वाङजस्तो अर्को पात्र नभएको उनको भनाई छ ।
नेम्वाङबाट संसदीय राजनीतिको सम्बन्धमा आफूजस्ता नयाँ सांसदहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया