राजनीति

अलबिदा! राजनीतिक इमानका स्तम्भ सुवासचन्द्र नेम्वाङ

बाबुराम भण्डारी |
भदौ २६, २०८० मंगलबार २२:२८ बजे

विराटनगर - केही राजनीतिकर्मीको चर्चा वा गुनगान उसको मृत्यूपछि मात्रै होइन, बाँचुञ्जेल पनि प्रसस्तै हुन्छन् । मंगलबार बिहानको एउटा अप्रत्याशित खबर सत्य सावित भएपनि असल राजनीतिको उचाई हाँसिल गरेका संविधान सभाका अध्यक्ष सुवाशचन्द्र नेम्वाङ मृत्यूपछि झन ठुलो आलोकमा अवतरित भएका छन् ।

धेरै शीर्ष राजनीतिककर्मीहरु आफ्ना कर्मकै कारण साख सखाप पार्दै गर्दा नेम्वाङले भने मृत्यु अघि पनि आफ्नो उचाई कहिल्यै घटाएनन् । राजनीतिक मोर्चादेखि संसदीय पथमा उनी नरोकिएको घोडचढी सावित बनेका छन् ।
२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मिएर असल राजनीतिक कर्ममा जोडिएका उनी संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वर्तमान उपाध्यक्ष एवम् प्रतिनिधि सभाका सदस्य रहेका थिए ।


अहिले राजनीतिमा इमानको खाँचो छ । असल नीति बनाउन नेतृत्वमा पुग्ने नेताहरुमा इमान नभएकै कारण मुलुकको राजनीतिक परिदृष्यमा नयाँ–नयाँ ज्वारभाटा आइरहेका छन् । नेताहरु आफैं निहुरिरहेका मात्रै छैनन्, उनीहरुका पछि लाग्ने कार्यकर्ता र पार्टीका चिन्हमा मतदान गर्ने मतदाताहरुको शिर पनि झुकाउँदै गएका घटनाहरु यत्रतत्र देखिन्छन् ।

२०३२ देखि २०६३ सम्मका मुलुकका ठुला राजनीतिक परिवर्तनमा जेलनेल भोग्दै अघि बढेका पात्र थिए नेम्वाङ । इलाम क्याम्पसमा अध्ययन गर्दा नै अनेरास्ववियुमा सङ्गठित हुँदै २०२९ सालदेखि कम्युनिष्ट राजनीतिमा उनी सक्रिय थिए । पञ्चायतकालमा पटक–पटक राजद्रोह मुद्दामा जेल परे ।

२०४८ सालमै राष्ट्रियसभा सदस्य बनेर संसदीय अभ्यासमा प्रवेश गरेका नेम्वाङ २०५२ सालमा पुनः राष्ट्रियसभा सदस्य बने । २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए यता कहिल्यै पछि फर्किएनन्, उनी पराजित भएनन् । २०५६ मै मनमोहन अधिकारीको सरकारमा कानुन न्याय तथा संसदीय मन्त्री बने ।

इलामको क्षेत्र नम्बर २ बाट २०६४ र २०७० को संविधानसभाको सदस्य निर्वाचित भएपश्चात उनी संविधानसभाको सर्वसम्मत अध्यक्षता बन्न सफल भए । नेम्वाङले संविधान जारी गर्न समेत महत्वपूर्ण भूमिका खेले । अहिले त्यहि भूमिकाले नेम्वाङ सबै राजनीतिक दलका नेता कार्यकर्ताहरुको मानसपटलमा चित्र बनेर उतारिएका छन् ।

संविधानसभाको अध्यक्षता गरेर संविधान जारी गरुञ्जेलको ९ बर्ष एमालेसँग राजनीतिक साइनो टुटेपनि त्यसपछि उनी एमालेकै मुलधारमा आइपुगेका थिए । उनी रिसाएको अनुहार नदेखेका एमालेका थुप्रै नेता कार्यकर्ताहरुका लागि नेम्वाङ घमण्ड, अहमता, उत्तेजता र आवेश विहीन सत्कर्मी नेता सिद्ध थिए । किनभने उनी त्यही कर्मका लागि योग्य सावित थिए । आफ्नो काममा कहिल्यै विचलित नहुने नेम्वाङ कार्यकर्ताहरुको पनि शिर ननिहुरियोस् भनेर पनि उतिक्कै चिन्ता व्यक्त गर्ने असल राज गुणी सिद्ध बने ।

त्यसो त उनी एमालेभित्र पार्टी भावी अध्यक्ष बन्ने हैसियत बनाइसकेका शालिन व्यक्तित्वमा परिचित थिए । तर मंगलबार उनको मृत्युको आकस्मिकता टर्न सकेन । उनी मृत घोषित हुँदा पूर्वका एमाले नेताहरुले पार्टीको मान, सम्मान र स्वाभिमान ढलेको दिनका रुपमा लिइरहेको सामाजिक सञ्जालहरुमा अभिव्यक्ति दिइरहेका थिए ।
मंगलबार बिहानैको अप्रत्यासित खबरले थकथकाइरहेका पूर्वका एमाले कार्यकर्ताहरुका लागि नेम्वाङ ताजै स्मृतिमा भेटिए । किनभने उनी बिहीबार मात्रै धरानमा भएको एमाले निकट युवा संघको कोशी प्रदेश अधिवेशनमा प्रमुख अतिथि बनेर आएका थिए ।

एमालेविरुद्ध थोपरिएको पहिचानविरोधी ट्यागलाई चिर्नका लागि नेम्वाङ त्यहाँ अत्यन्तै सन्तुलनकारी भूमिकाका साथ उभिएर मन्तव्य दिएका थिए । कोशी प्रदेशको नामाकरणपछि एमाले केन्द्रीत गरेर भइरहेका भौतिक आक्रमणका घटनाको सामना गर्दै आएका नेम्वाङले आफ्ना विरोधी र आलोचकहरुलाई ‘खै मैले त अनुहार पनि विर्सिहाले’ भन्दै क्षमा दिन्थे ।

पहिचानकै मुद्दामा असहमति जनाउँदै एमालेबाट छुट्दै गएका अशोक राई, रकम चेम्जोङ, भवानी खापुङ लगायतका पुराना नेताहरुको अभावको भारी नेम्वाङले पूर्वबाट एक्लैले बोकिरहेका थिए । उनले एमालेभित्र अडिग राजनीतिक कार्यकर्ताको पहिचान बनाएका थिए ।

युवा संघकै अधिवेशनमा खरो भाषण गरेका एमाले नेता महेश बस्नेतले समेत त्यो कार्यक्रमका मुख्य वक्ता नेम्वाङको सन्तुलनकारी भाषणबाट प्रभावित भएको बताए । उनले मंगलबार एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा नेम्वाङको त्यहि सन्तुलनकारी बिचारले आफूमा राजनीतिक उर्जा थपिएको प्रतिक्रिया दिएका थिए ।

नेम्वाङले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि इलामकै एउटा कार्यक्रममा एमालेका केही कार्यकर्ताहरुलाई साँची राखेर भनेका थिए, ‘शिर निहुरिने कुनैपनि काम गर्नेछैन, तपाँईहरुले त्यो कहिलेपनि सुन्नुपर्ने छैन, यत्रो लामो समय काम गरियो, सभामुख र संविधान सभा अध्यक्ष भएपछि पार्टीले, नेताहरुले, कम्रेडहरुले तैंले उपप्रधानमन्त्री गृहमन्त्री खानुपर्छ भनेकै हुन् केपी ओलीको सरकारमा, मैले भने– म एउटा मान्यतामा छु, संविधानसभाको अध्यक्ष भइसकेको मान्छे उपप्रधानमन्त्री मन्त्री बन्न हुँदैन, म आफ्नो मान्यतामा अविचलित अडिने मान्छे हो कम्रेडहरु ।’ नेम्वाङको त्यो भनाई अहिलेपनि गुञ्जिइरहेको इलामकै प्रतिनिधित्व गर्ने एमाले केन्द्रीय सदस्य एवं एमाले संसदीय दल कोशी प्रदेशका उपनेता राम रानाले बताए ।

आफूले कसैको पनि शिर निहुरिने गरी काम नगर्ने कसम खाएका नेम्वाङले इलामका इमान्दार एमाले कार्यकर्ताहरुसँगै सदा सर्वदा साथमा रहने बाचा गरेका थिए । तर मृत्यु साश्वत भएपछि त्यसका सामू उनी निरिह बने । उनी मंगलबार विहानै सूर्य नउदाउँदै अस्ताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x