राजनीति

रास्वपाको चेतावनी–पार्टीको नाम प्रयोग गरी कसैले पैसा मागेको प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्छौँ

इकागज |
भदौ २७, २०८० बुधबार १३:४८ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम प्रयोग कसैले पैसा मागेको प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्ने बताएको छ । रास्वपाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण जोकोहीले लिएर ७२ घण्टाभित्र कारबाही गर्ने चेतावनी दिएको छ । 

‘राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जारी गरेको वक्तव्यमा भनिएको छ । 


रास्वपाबाट निस्कासित ढाकाकुमार श्रेष्ठले केही दिनअघि आफूलाई मन्त्री बनाउन पैसा माग्ने ‘कोर टिम’को खुलासा गरेका थिए । उनले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत मन्त्री बनाउनका लागि तीन करोड मागिएको खुलासा गरेको थिए । 

मोहनजंग थापाले आफूलाई तीन करोड दिए मन्त्रीका लागि लविङ गरिदिन्छु भनेको श्रेष्ठले बताएका थिए । रास्वपाले भने उनकाे आरोप सत्य नभएको बताएको छ । ‘उल्लिखित पृष्ठभूमिमा बिना आधार, बिना प्रमाण पार्टीको छविमा आँच पु¥याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ । 

रास्वपाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियोमा काण्डमा थापाको नाम जोडिएका थापामाथि पनि छानबिन सुरु गरेको छ । ‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ।’


 


Author

थप समाचार
x