राजनीति

नेम्वाङको स्मृतिमा सातै प्रदेशमा एमालेले विचार गोष्ठी गर्ने

इकागज |
भदौ २९, २०८० शुक्रबार १४:३६ बजे

काठमाडौँ– नेकपा एमालेले संविधानसभाका अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टीको बैठकले उक्त निर्णय गरेको हो । 

विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने छ भने विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिनेछ । 


अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ भने अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू जाने कार्यक्रम रहेको छ ।

सो अनुसार, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेश प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जानेछन् । कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा बादल, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा बोल्नेछन् । 

सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा. भीष्मनाथ अधिकारीले बताए । 


Author

थप समाचार
x