राजनीति

नेम्वाङको स्मृतिमा एमालेले देशव्यापी रूपमा  ‘सुवास र संविधान’ कार्यक्रम गर्ने

इकागज |
असोज १, २०८० सोमबार १६:१२ बजे

काठमाडौँ– संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा भोलि अर्थात् असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी हुने भएको छ । एमालेले संविधान सभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेम्वाङको योगदानलाई केन्द्रमा राखी ‘सुवास र संविधान’ विषयमा देशव्यापी रूपमा कार्यक्रम आयोजना गर्न लागेको हो । 

एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । दिउँसो साढे १२ बजेदेखि सुरु हुने कार्यक्रममा अतिथि वक्ताका रूपमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्ती, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, संविधानविद् नीलाम्वर आचार्यलगायत आमन्त्रित छन् । 


अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू प्रमुख वक्ताका रूपमा खटाइएको छ । जसअनुसार, मधेश प्रदेशमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कोशी प्रदेशमा रामबहादुर थापा बादल, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डेलाई खटाइएको छ । 


Author

थप समाचार
x