राजनीति

‘संविधान अकाट्य हैन, आवश्यकताअनुसार संशाेधित हुनुपर्छ’ सांसद भगवती चौधरी

इकागज |
असोज ३, २०८० बुधबार ११:२८ बजे

काठमाडौं । न्याय, समानता, समावेशिता र विशिष्ठता लोकतान्त्रिक संघात्मक शासन व्यवस्थाको सुन्दरता भएको नेकपा एमालेकी नेतृ सांसद भगवती चौधरीले बताएकी छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै पूर्वमन्त्री समेत रहेकी चौधरीले पहिलो र दोस्राे संविधान सभाद्वारा निर्माण गरिएको नेपालको वर्तमान संविधानले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका आम नेपालीलाई समेटेको तथा अकाट्य नभएको समेत बताएकी छन् । 

‘जसरी एउटा बगैंचामा सयौं प्रकारका फुलहरु ढकमक्क भएर फुल्दा त्यसको सुवासले जगत मगमग हुन्छ । नेपालको संविधानले पनि नेपालका सबै वर्ग, समुदाय, जाति जनजाति, दलित, मुस्लिम थारु, हिमाल, पहाड तराई जहाँसुकै बस्ने नेपालीको साझा प्रतिनिधित्व गर्नुपर्दछ ।’ चौधरीले सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै भनेकी छन् ।  


नेपालको संविधान २०७२ ले विविधतामा एकता खोज्दै तमाम नेपालीलाई गोलबद्ध गर्ने कोशिस गरेको भएपनि संविधानका केही विषयहरुमा मतैक्यता नदेखिएको उल्लेख गर्दै चौधरीले संविधान अकाट्य नभएको तर्क गर्दै समय अनुसार संशाेधन गर्न सकिने पनि बताएकी छन् । ‘हामीले यो पनि बुझ्नु पर्दछ कि संविधान अकाट्य पनि हैन । यो समय सापेक्ष, युग अनुसार जनताको चाहना र भावना अनुसार निरन्तर परिमार्जित, संशाेधित हुने गर्दछ र हुनु पनि पर्दछ ।’ उनले भनेकी छन् ।  

लोकतन्त्रको सुन्दरता भनेकै आम जनताले आफ्ना अधिकार, आफ्ना भावनाहरु शान्तिपूर्ण ढंगले राख्न पाउनु हो भन्दै चौधरीले यो संविधानले लोकतन्त्र, मानवअधिकार, जनताको सूसुचित हुने अधिकारलाई सुरक्षित गरेको जिकीर गर्दै संविधानको पालनामा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् । ‘यसको पालना गर्न सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, राज्य सञ्चालक जिम्मेवार बन्नु पर्दछ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र नेपालको संविधानभन्दा माथि कोही पनि हुनुहुँदैन ।’ 

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न एकबद्ध हुनुपर्ने जनाउँदै सांसद चौधरीले जनताद्वारा लेखिएको संविधान जारी भएको दिनको अवसरमा नेपालीजनमा सुखः शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।


Author

थप समाचार
x