राजनीति

जननिर्वाचित संविधान सभाद्वारा संविधान बन्नु ऐतिहासिक : रवि लामिछाने

इकागज |
असोज ३, २०८० बुधबार ११:४४ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जननिर्वाचित संविधान सभाद्वारा संविधान बन्नु ऐतिहासिक भएको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै जनताले हदैसम्मको संघर्ष गरेर नयाँ संविधान बनेको बताए । 

उनले अहिलेको प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए । पार्टीको ‘वडा वडामा रास्वपा’ अभियानका लागि रोल्पा रहेका लामिछानेले लेखेका छन्, ‘आज म विगत ३ दशकको राजनीतिक उतार चढावमा सबैभन्दा पीडा भोगेको रोल्पामा छु । जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् । जनताले समृद्धिको ढोका खोजिरहेका छन् । उनीहरूले बुझेका छन्, संविधान साधन हो, साध्य होइन । संविधान आफैँमा गतिशील दस्तावेज हो ।’


नेपालको संविधानमा धेरै सवल र उन्नत लोकतान्त्रिक पक्षहरु भए पनि केही संरचनागत व्यवस्थाहरुले राज्यलाई बोझिलो बनाएको उनको ठहर छ । संविधान स्वयंले लोकतान्त्रिक पक्रियाद्वार संशोधनको बाटो खोलेको पनि उनले उल्लेख गरेका छन् । 

‘अतः लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै हाम्रो संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बनोस्,’ लामिछानेले भनेका छन्, ‘हामी सबैलाई संविधान दिवसको हार्दिक शुभकामना ।’
 


Author

थप समाचार
x