राजनीति

जसपामा स्पष्टीकरण प्रकरण

अध्यक्षद्वयले एक-अर्कालाई जवाफ नदिने

मधुसुधन भट्टराई |
जेठ १३, २०७८ बिहीबार १८:५६ बजे

काठमाडौँ : सत्ता सहयात्रामा कसलाई सहयोग गर्ने विषयमा मतान्तरसँगै विवादमा फसेको जनता समाजवादी पार्टी(जसपा) का अध्यक्षहरु आमने सामने भएका छन् । पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेपछि दुई अध्यक्षले मंगलबार एकले अर्कालाई तीन दिने समयसीमा सहित स्पष्टीकरण सोधेका छन् ।

दुवै समूहले सोधेको समयभित्र स्पष्टीकरणको जवाफ दिने हो भने शुक्रबारसम्म जवाफ दिनुपर्छ । तर, दुवैले पार्टीको आधिकारिक बैठक बसेर स्पष्टीकरण नसोधिएको भन्दै जवाफ नदिने बताएका छन् । जसपामा अध्यक्ष महन्थ ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरिरहेको छ भने अध्यक्ष उपेन्द्र यादव समूहले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सम्मिलित समूहलाई समर्थन गरिरहेको छ ।


यही विषयमा विवाद भएपछि एकले अर्कालाई स्पष्टीकरण सोधेका हुन् । यादव समूहले पार्टी विधान अनुरुप पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेर स्पष्टीकरण सोध्नु पर्नेमा व्यक्तिगत रूपमा सोधेकाले नदिने बताएको छ भने ठाकुर समूहले आफूहरूले पत्र नै नपाएको बताएको छ ।

यादव समूहका कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले महन्थ ठाकुरले व्यक्तिगत रूपमा स्पष्टीकरण सोध्न नमिल्ने भएकाले अध्यक्ष यादवले जवाफ नदिने बताए । ‘पार्टी विधानअनुरुप महन्थ ठाकुरले व्यक्तिगत रूपमा सोध्न पाउँदैनन् । केन्द्रीय कार्यकारिणी समितिले स्पष्टीकरण सोध्ने निर्णय गर्नुपर्छ,’ राईले इकागजसँग भने, ‘ठाकुरले व्यक्तिगत सोधेका छन्, पार्टीको कुनै पनि निकायले निर्णय गरेको छैन । पार्टी महन्थ ठाकुर र उपेन्द्र यादवको होइन, संस्थागत निर्णय गर्नुपर्छ । तसर्थ जवाफ दिन आवश्यक छैन ।’

ठाकुरले आफैँ हस्ताक्षर गरेर अध्यक्ष यादवलाई मात्रै स्पष्टीकरण सोधेका छन् ।  उता यादव समूहले भने अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधिएका कर्णले आफूलाई पत्र नै आइनपुगेको बताए । 

‘अहिलेसम्म स्पष्टीकरण पत्र नै पाएको छैन, कसरी जवाफ दिने,’ कर्णले इकागजसँग भने, ‘पत्र पाएपछि जवाफ दिने/नदिनेबारे बल्ल भन्ने हो । आधिकारिक बैठक बसेर सोधेको नभएकाले जवाफ दिने सम्भावना कम छ ।’ तर, ४ नेताको स्पष्टीकरण पत्रमा हस्ताक्षर गरेका यादव समूहका कार्यकारिणी समिति सदस्य तथा कार्यालय प्रमुख प्रकाश अधिकारीले भने मंगलबार नै चार नेताको मेल र ह्वाट्सएपमा पत्र पठाइसकिएको जानकारी दिए । 

‘पत्र मंगलबार नै उहाँहरूको मेलमा पुगिसकेको छ । कर्णलाई मेल र ह्वाट्सएपमा पठाइएको हो,’ अधिकारीले इकागजसँग भने । कार्यकारिणी समिति सदस्य राईले आफूहरूले चार नेतालाई कार्यकारिणी समितिबाट निर्णय गरेर स्पष्टीकरण सोधिएकाले जवाफ दिनै पर्ने बताए । 

‘उपेन्द्रले सोधेका होइनन्, जनता समाजवादी पार्टीको कार्यकारिणी समितिले ४ नेताले पार्टी अनुशासनविपरीत काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो, त्यही अनुसार सोधिएको हो । तसर्थ जवाफ दिनैपर्छ,’ राईले भने ।  यादव समूहले ९ जेठमा कार्यकारिणी बैठकबाट यादव समूहले आइतबार अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता महतो, शुक्ल र कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरको थियो ।

‘पार्टीको नीति, सिद्धान्त, विचार एजेण्डा विधान र कार्यदिशाविपरीत कार्य गरेको/गराएको भन्दै विधान र नियमावलीबमोजिम स्पष्टीकरण सोध्‍ने,’ बैठकको निर्णयमा भनिएको छ । यादवले पार्टीको निर्णय राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको आरोप पत्रमा लगाएका छन् ।

पार्टी ‘नीतिविपरीत’ प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई साथ दिएको पनि बताएका छन् । ठाकुरले पत्रमा विपक्षी गठबन्धनका प्रधामन्त्री पदका उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर गर्ने गतिविधिमा सामेल किन भएको भन्‍ने प्रश्‍न गरेका छन् । 

ठाकुरले यादवलाई सोधेको स्पष्टीकरण पत्र

यादवले ठाकुर, महतो, शुक्ल र कर्णलाई सोधेका स्पष्टीकरण पत्र


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x