राजनीति

सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको छ : गृहमन्त्री

इकागज |
असोज ४, २०८० बिहीबार १५:११ बजे

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गरेका छन् ।​

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सहिष्णुता र सौहार्दतालाई कमजोर पार्ने गतिविधिहरू भइरहेको बताएका हुन् । उनले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान रहेको भन्दै आपसी एकता, सहिष्णुता र सौहार्दतालाई कुनै पनि हालतमा कमजोर हुन दिनु नहुने जिकिर गरे ।


गृहमन्त्री श्रेष्ठले सहिष्णुता कमजोर पार्ने प्रयत्नका विरुद्धमा सरकारले कानुनी र प्रशासनिक रूपमा हस्तक्षेप गर्ने स्पष्ट पारे । यसको निम्ति सबै सचेत हुनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे ।

मन्त्री श्रेष्ठले अर्थतन्त्रमा देखा परेका समस्याहरूका कारण पनि समाजमा अस्थिरता र अराजकता उत्पन्न भएको बताए । उनले समाजमा ‘हेट स्पिच’ बढेर गएको भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक लिएको भनाइ राखे । सामाजिक सञ्जालमा व्याप्त ‘हेट स्पिच’ लाई नियमन गर्न सरकारले सरसल्लाह गरिरहेको उनले बताए ।


Author

थप समाचार
x