राजनीति

'दिगो विकास लक्ष्यले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ'

इकागज |
असोज ६, २०८० शनिबार १४:२९ बजे

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।​

शनिबार समाज कल्याण परिषदद्वारा काठमाडौँमा आयोजित ४४ औं सामाजिक सेवा दिवसलाई सम्बोधन गर्दै उनले सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रका रूपमा चिनाउने गरी योजना तर्जुमा गर्न निर्देशन दिएका हुन् । उनले सामाजिक संस्थाले पारदर्शिता, परियोजनाहरूको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।


आचार्यले गैरसरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरूप समाजकल्याण परिषदमार्फत सञ्चालन गर्ने गरी कार्य गर्न निर्देशन दिए । उनले गैरसरकारी संस्थाहरूलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषदबाट हुने अनुगमन एवं मूल्यांकन कार्यलाई प्रभावकारी बनाइने व्यहोरा आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख रहेको बताए ।

मन्त्री आचार्यले परिषदद्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरूबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्यांकन, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका कार्यहरू प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । 

 


Author

थप समाचार
x