ईःको आन्दोलनमा ओलीको ऐक्यबद्धता, भन्छन्– बाटो खुल्ला राखौँ, तर मान्छे मारेर होइन
काठमाडौँ– सडक व्यापारीको बाँच्न पाउने अधिकारका लागि आन्दोलनरत ईःको आन्दोलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऐक्यबद्धता जनाएका छन् । आज सोमबारदेखि काठमाडौँमा सुरु भएको एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले गरिबको सामान फालेर मात्रै फुटपाथको समस्या समाधान नहुने बताए ।
उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नाम नलिइ भने, ‘एउटा युवा १२५ घण्टादेखि उभिएको उभियै गरेर सत्याग्रह गरिरहेको छ । एकजना जोसँग यो कुरा सम्बन्धित छ, तिनले तिम्रा नेता खोज्दै वार्ता गर्न जाने आदि भनेको सुनियो । मान्छेलाईघमण्डले बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन । समस्या समाधान गरेर सफल हुन्छ ।
ओलीले विकल्प दिएर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने बताए । ‘गरीबले बल्लबल्ल किनेर ल्याएको हुन्छ । फ्याँकेर, पोखेर समस्याको समाधान हुँदैन,’ ओलीले भने, ‘शहर सफा राखौँ । बाटो खुल्ला राखौँ, तर मान्छे मारेर होइन । मान्छेलाई पेलेर होइन । मान्छेलाई रुवाएर होइन ।’
विकल्प नहुञ्जेल पुटपाथ व्यापारीलाई बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म फुटपाथमा व्यापार गर्न दिन सकिने उनको भनाइ छ । उनले यस विषयमा सरकारले कुनै चासो नदेखाएको पनि बताए ।
ईः लगायत अभियन्ताहरू विगत ७ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर आन्दोलन गरिरहेका छन् । मेयर शाहले आज बिहान आन्दोलनरत पक्षलाई आफैँले वार्ताका लागि बोलाउँदा पनि नआएको बताएका थिए । तर, अभियन्ता ईःले शाह आफैँ आएर आफूहरूलाई वार्तामा नबोलाएको भन्दै प्रतिकार गरेका छन् । आफूहरूलाई वार्तामा बोलाउन नगर प्रहरी पठाएको र प्रहरीले धम्कीको शैलीमा बोलाएको ईःको आरोप छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया