दशैँ, तिहारमा हुने कालोबजारी रोक्न निरन्तर अनुगमन हुन्छ : मन्त्री रिजाल
फाइल तस्बिर
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन् । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री रिजालले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुगमन गर्ने जिकिर गरे । उनले २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज,ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गरे । उनले जीवाष्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताए ।
तत्कालै देशभित्र नवीकरणीय र हरित ऊर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताए ।
मन्त्री रिजालले उद्योगीहरूले व्यावसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगका रूपमा विकास गर्न आग्रह गरे । उनले सबै ग्याँस उद्योगले आम जनताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गरे । उनले सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया