विकासमा राजनीति हुँदैन : कार्यवाहक प्रधानमन्त्री खड्का
सुर्खेत । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विकासमा राजनीतिक गर्न नहुने बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खड्काले विकासका सवालमा सबै माननीयहरु एकबद्ध रहेको औंल्याए ।
‘कर्णालीका सबै सांसदको एउटै सङ्कल्प कर्णालीको विकास र परिवर्तन रहेको छ । तुलनात्मक रूपमा हामी कर्णालीलाई अरू प्रदेश सरह बनाउन हामी सबै लाग्नुपर्छ’ खड्काले भने, ‘विकासमा राजनीति हुँदैन । त्यसैले हामी सबै माननीय एकताबद्ध भएर लाग्नुपर्छ । विकास र समृद्धिका कुरालाई लिएर कुनै विवाद छैन ।’
निर्वाचनका बेलामा जुन तरिकाले विकास अगाडि बढाउने सोच थियो तर बजेट अभावमा चाहेअनुसारको विकास गर्न नसकिएको उनले बताए । यद्यपि उपलब्ध बजेटबाट विकासका कामहरु अगाडि बढाएको उनको भनाई छ ।
खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको बताए । ’सेवालाई सहज बनाउनेमा सरकार केन्द्रित छ,’ उनले भने, ’जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने सरकारको ध्यान छ ।’ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको पनि उनले बताए ।
यसैगरी खड्काले सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको जानकारी दिए । ‘धावनमार्गको काम अघि बढ्दैछ, उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन । तर, दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन,’ खड्काले भने, ‘अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया