कांग्रेस सङ्खुवासभाका सभापति खड्काद्वारा राजीनामा
काठमाडौँ । नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिएका हुन् ।
खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सङ्खुवासभाबाट निर्वाचित खड्काले प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौँमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएका हुन् ।
“सङ्खुवासभामा विसं २०७० र २०७९ सालको निर्वाचनमा कांग्रेसलाई विजयी बनाएको र आगामी दिनमा पनि कांग्रेसको सङ्गठनलाई मजबुद बनाउन जिल्लामा रहेका साथीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न सभापति पदबाट राजीनामा दिएको हुँ”, उनले भने ।
नेता खड्काले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टी र जनताको काममा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया