राजनीति

सुर्खेत आएर ओलीले भने- एमाले आयो र जनताले विकास देखे

इकागज |
असोज १०, २०८० बुधबार १९:५ बजे

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले आएपछि मात्र नागरिकले विकास देखेको बताएका छन् । बुधबार एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने, ’एमाले आयो र जनताले विकास देखे, एमाले आउनुअघि यो देशमा विकास नै देखिएको थिएन ।’ 

उनले २०८४ मा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरे । उनले आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी र विरोध गरेको भएपनि एमाले पार्टी यस्तो कुरामा नअल्मलिने बताए । अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार विदेशीको जालझेलमा चलेको आरोप समेत लगाए ।


गठनन्धनले तस्करी रोक्ने होइन झन् झन् बढाउँदै गएको उनले दावी गरे । ’गठबन्धन सरकारले तस्करी रोक्छु भन्छ झन् बढाउँदै गएको छ, भ्रष्टचार घटाउँछौं भन्छ झन् बढाउँदै गएको छ’ उनले भने । कर्णालीमा सयौं विकासका सम्भावना भएपनि अझै पनि देशकै विकट प्रदेश भएको उनले बताए ।

ओलीले कर्णालीको विकासका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताए । कर्णालीमा मानव, शिक्षा, पूर्वाधार स्वास्थ्य लगायतका विकास तत्काल आवश्यक रहेको उनले बताए । उनले भने, ‘प्राकृतिक र सांस्कृतिक हिसाबले कर्णाली सम्वृद्ध छ । यसको अर्थ यहाँ विकासका सम्भावना छन् । जडिबुटी देखि जलविद्युत आयोजना लगायतका सम्भावना छन् । कृषिमा समेत यस प्रदेशमा आवश्यक पूर्वाधारबाट विकास गरिनुपर्छ ।’
 


Author

थप समाचार
x