बजार कब्जा गरेका सीमित व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर मूल्यमा एकाधिकार लादिरहेका छन् : रास्वपा
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दशैं, तिहारलगायत ठूला पर्व नजिकिँदै गर्दा बजार थप अनियन्त्रित बन्दै गएको बताएको छ । बिहीबार पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दै रास्वपाले केही सीमित व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर मूल्यमा एकाधिकार लादिरहेको बताएको छ ।
‘दसैं, तिहार, नेपाल संवत्, छठ जस्ता ठूला पर्व नजिकिँदा बजार थप अनियन्त्रित बन्दै छ । महंगीको भार निरन्तर बढिरहेको छ । बजार कब्जा गरेका सीमित व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर मूल्यमा एकाधिकार लादिरहेका छन्,’ पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उनीहरुकै योजनामा कालोबजारी फस्टाउँदा र पसैलेपिच्छे मूल्य फरक हुँदा उपभोक्ता पाइला–पाइलामा ठगिएका छन् । तर, बजारमा तीनै तहका सरकारी निकायको उपस्थिति प्रभावकारी छैन । भएको बजार अनुगमन पनि देखावटीमा सीमित छ ।’
रास्वपाले चाँडपर्वमा बजार थप सहुलियतापूर्ण हुनुपर्नेमा सरकारले त्यससम्बन्धि स्पष्ट नीति, योजना तथा कार्यक्रम नल्याएको बताएको छ । देशभरका उपभोक्तालाई राहत दिनुपर्ने सरकार यसपटक पनि केही सीमित ठाउँमा ‘सहुलियत पसल’ सञ्चालन गरेर झारा टार्ने प्रयासमा रहेको पार्टीको भनाइ छ । ‘तसर्थ, यो बैठक बजारमा व्याप्त मनपरी नियन्त्रण गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुन मातहत ल्याउन र उपभोक्ता अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया