राजनीति

पुराना दललाई रवि लामिछानेले भने: तपाईंहरूले मिसन ८४ भनेको फिटिक्कै सुहाएन

इकागज |
असोज १२, २०८० शुक्रबार १३:१३ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना दललाई अब चार वर्षलाई देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रुपमा लिन अपील गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै उनले देशका तमाम समस्या सुल्झाउन रास्वपाबाहेकको सहमतीय सरकार बनाउन अनुरोध गरेका छन् । उनले आफूहरू प्रतिपक्षको मोर्चा सम्हाल्न तयार रहेको बताएका छन् । 

‘यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर  तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईंहरूको जिम्मा,’ उनले लेखेका छन् ।


उनले पुराना दलहरूले ‘मिसन ८४’ भनेको फिटिक्कै नसुहाएको बताएका छन् । उनले पुराना दलहरूलाई ‘मिसन ८०’ भएको उल्लेख गरेका छन् । ‘मिसन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त । केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला । अझ मिसन ८०, मिसन८१, मिशन ८२, मिसन ८३ छँदै छ त,’ उनले पोस्टमा लेखेका छन्, ‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याइ वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस् ।’

उनले बाँकी रहेको चार वर्षमा आफ्नो अपार क्षमताले काम गर्न पुराना दललाई सुझाएका छन् । उनले आफ्नो पार्टीको जमानत जफत हुने गरी काम गरेर देखाउनसमेत उनले बताएका छन् । ‘राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ हजुर कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला,’ उनले लेखेका छन् । 


Author

थप समाचार
x