राजनीति

अर्थ समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन भएनन् : सभापति चालिसे

इकागज |
असोज १२, २०८० शुक्रबार १५:९ बजे

फाइल तस्बिर

काठमाडौँ– अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थसमितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सभापति चालिसेले यस्तो बताए । 

उनले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताए । उनले भत्ता मात्रै लिन बैठक बसेर निर्देशन दिने तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको बताए । उनले समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको बताए । उनले भन्सार कार्यालयहरूमा सामान आयात गरेर भन्सारमा नै थन्काउने र आयातकर्ता सम्पर्कमा नपाउँदा भन्सारमा अर्बाैंको सामान थन्किएर बसेको बताए । 


‘ठूलो रकमको विदेशी मदिराहरू वीरगञ्ज भन्सारमा रहेको र आयात गर्ने मानिस सम्पर्कविहीन भएको कुरा आएको छ । सरकारको राजस्व नउठेर समिति राजश्वको कुरामा चिन्तित छौँ । भन्सारमा राजस्व उठ्ने कुरामा त्यतिकै थन्किएर बसेका छन् । अर्थमन्त्रीले दुई महिनाभित्र भन्सारमा रोकिएका सवारी साधन लगायतका वस्तुहरू भन्सारबाट निकाल्न निर्देशन दिएको कति महिना भयो । काम भयो भएन भन्ने छ । यति धेरै राजश्व आउने कुरामा हामी सुतेर बसेको छौँ ।’ 

उनले अगाडि भने, ‘अहिले भन्सार प्रमुखले फोन गरेर अर्थ समितिलाई बोलाएर अनुगमन गरिदिन माग गर्नुभएको छ । समितिले आजसम्म गरेका समितिका निर्णयहरू  ८० प्रतिशत कार्यान्वयन भएका रहेनछन् । ८० प्रतिशत समितिका निर्देशन सरकारले पालना गर्दैन भने समितिको बैठक मात्रै बसेर नकारात्मक सन्देश गयो । सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक बस्दैनौँ ।’

उनले भन्सार प्रमुखहरूले अर्थ समितिलाई फोन गरेर भन्सार अनुगमनको लागि आग्रह गरेको बताए । उनले भन्सारमा ठूलो रकमको राजश्व गुम्दा समेत सरकार मौन बसेर राजश्वको चिन्ता गर्ने काम मात्रै भएको बताए ।


Author

थप समाचार
x