राजनीति

संसद् भवनको ठेक्का अवधि हचुवाको भरमा फेरि थप्न सकिँदैन : मन्त्री गुरुङ

इकागज |
असोज १५, २०८० सोमबार १७:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधीन संघीय संसद् भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छिन् । मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्टयाएकी हुन् ।

सोमबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुगेकी उनले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने सर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोही अनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।


मन्त्री गुरुङले आफूहरूले हिउँदे अधिवेशन सोही भवनबाटै सुरु गर्ने गरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटकपटक ताकेता गरेको पनि बताइन् । म्याद थप गरेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोज महिनाभित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री गुरुङले सो भवनको निर्माण कार्य छिट्टै सम्पन्न हुने गरी जनशक्ति बढाउन गरिएको आग्रहलाई पनि निर्माण कम्पनीले पालना नगरेको गुनासो गरिन् ।

यता, निर्माणाधीन संसद भवनको निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी टुन्दी/सेक जेभीले भने ठेक्का अवधि पुनः ६ महिना थप गर्न सरकारसँग आग्रह गरेको छ । ६ महिनाभित्र सबै काम सम्पन्न गर्नका लागि सरकारसँग म्याद थपको प्रस्ताव राखिएको सो निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रमिन्द्रकृष्ण श्रेष्ठले बताए । उनले सो भवनको निर्माण कार्यलाई छिटो सम्पन्न गर्नका लागि आफूहरूले आवश्यकता अनुसार जनशक्ति पनि बढाउँदै लगेको र राति पनि काम गर्ने योजना तय गरिएको जानकारी दिए ।

सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन सो भवन २०७९ असोज १६ भित्र यसको निर्माण सकिसक्नुपर्ने थियो । तर, दुई पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । टुन्दी/सेक जेभीले सो भवनको ठेक्का ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा लिएको थियो ।

 

 


Author

थप समाचार
x