श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छन् । सोमबार सिंहदरबारमा सञ्चार माध्यममा देखिएको समस्याका बारेमा नेपाल पत्रकार महासंघ र श्रमजीवी–पत्रकार संघको ध्यानाकर्षण कार्यक्रममा मन्त्री शर्माले ऐन कार्यान्वयनमा देखिएको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै आवश्यक परे समाधान गरिने बताइन् ।
उनले ऐन कार्यान्वयन हुन नसक्नुको कारण पहिचान गर्नुपर्ने र ऐनमा कमी कमजोरी देखिए पूर्ण बनाउनुपर्ने धारणा राखिन् । उनले सञ्चार माध्यममा देखिएको श्रमका समस्याप्रति मन्त्रालय जानकार रहेकाले सूचना तथा प्रसारण विभागलाई समाधानका लागि आग्रह गरिएको जानकारी दिइन् । मन्त्री शर्माले सहज रूपमा श्रम सम्बन्धी विषय हल हुन नसके कानुनी बाटो खुल्ला गर्नुपर्नेमा मन्त्रालय प्रष्ट रहेको बताइन् ।
त्यस्तै, पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सबै कानुन लागू भए पनि श्रमजीवी–पत्रकारसम्बन्धी कानुन लागू हुन नसकेको बताए । श्रमजीवी पत्रकारको हित र सम्पादकीय वा प्रेस स्वतन्त्रता बाहेक अन्य विषयमा ऐन परिमार्जन गर्न महासंघ तयार रहेको उनले बताए । श्रम अधिकारका लागि महासंघ सदैव अग्र मोर्चामा रहेर लड्ने उनको भनाइ छ ।
विभिन्न सञ्चार माध्यममा व्यवस्थापकहरूले श्रमजीवी–पत्रकारलाई जबरजस्ती निष्कासन, तलब रोक्का, अनावश्यक सरुवा गरेकोमा कानुन अनुरूप कारबाही, पारिश्रमिक बृद्धि, ऐनमा तोकिएको सेवासुविधा लागू गर्नेलगायत विषयमा नेपाल पत्रकार महासंघ र श्रमजीवी–पत्रकार संघ, नेपालले संयुक्त रूपमा सञ्चारमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया